• असार २५ २०८१, सोमबार

पाँचथरमा अज्ञात समूहको कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते

असार २२ २०८१, शुक्रबार

पाँचथर । अज्ञात समूहको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । कुटपिटबाट फिदिम नगरपालिका–१४, आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामीझाँक्री) हेर्न गएका दिनेशसहित परशु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते चारैजनालाई उपचारका निम्ति जिल्ला अस्पताल फिदिम ल्याइएको थियो ।

उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए । घाइतेमध्ये ध्रुव र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको खोजीका निम्ति प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीचौकी रानीटार र पौवासारतापबाट टोली परिचालन गरिएको जनाइएको छ ।