• जेष्ठ ४ २०८३, सोमबार

नेपालगञ्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आयो

बैशाख २४ २०८१, सोमबार

नेपालगन्ज । नेपालगञ्जस्थित एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई ट्रक भारततर्फ निर्यात भएको थियो । भारतबाट आएको एक ट्रक सोही अवसरमा नेपाल प्रवेश गराइएको थियो।

कार्यक्रममा मन्त्री भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि मध्य पश्चिम क्षेत्रको व्यापार बढ्ने र देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले एकीकृत जाँच चौकीको सञ्चालनले निर्यात प्रवर्द्धन र आयात–निर्यातलाई सहज बनाउने बताए।

उनले एकीकृत जाँच चौकी निर्माणको लागि भारत सरकार, निर्माणकर्ता र आइसीपी निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा भन्सार विभागमा महानिर्देशक ढुण्डीप्रसाद निरौलाले आईसीपी सञ्चालनमा आएपछि सामान निकासी पैठारी सहज हुने बताए । चोरी निकासीमा नियन्त्रण भई राजस्व समेत बढ्ने उनको भनाइ छ ।

एकीकृत जाँच चौकी भारत सरकारबाट ९ वैशाख २०८१ मा सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ बाँकेलाई हस्तान्तरण भएको थियो ।

एकिकृत जाँच चौकीको निर्माणको काम २६ असोज २०७७ गते सुरु भएको थियो । यसको निर्माण २०८० फागुनमा सम्पन्न भएको हो । कुल ४५.८१ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीमा पहिलो चरणमा १८.०५ हेक्टरमा संरचनाहरुको निर्माण भएको छ ।