• जेष्ठ ४ २०८३, सोमबार

आइटी र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछ –अर्थमन्त्री पुन

बैशाख २१ २०८१, शुक्रबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवद्र्धन गर्नेगरी बजेट निर्माण गरिने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्व बजेट सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

अर्थमन्त्री पुनले पर्यटन, आइटी, जलविद्युत, खानिजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि प्रतिष्पर्धी क्षेत्र भएकाले सरकारको प्राथमिकता रहेको बताए । उनले आयात प्रतिस्थापन गर्ने क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउनमा जोड दिने प्रतिवद्धता जनाउँदै सरकारले शिक्षा र स्वास्थलाई पनि प्राथमिकता दिनेमा जोड दिए ।

अर्थमन्त्री पुनले शिक्षा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशतसम्म खर्च गर्नेगरी नीतिगत सुधार गर्न सुझाव आएको भन्दै त्यसमा सरकारको ध्यान गएको बताए। उनले रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्नसक्ने आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताए । उनले कृषिमा भएको बजार र खपत भएका वस्तुहरुलाई प्रतिस्थापन गर्ने योजना सरकारको रहेको सुनाए ।

अर्थमन्त्री पुनले निर्वाहमुखी कृषि भएकाले ३ खर्ब बढी वार्षिक रुपमा कृषि वस्तुहरु आयात गरिरहेको भन्दै कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउदै त्यसको लागि कृषि क्षेत्रमा नीतिगत रुपले उत्पादनमा सहुलियत दिएर बजार र उद्योगसँग जोडी आधुनिकरण गर्ने योजना रहेको बताए ।

उहाँले किसानको बजारको ग्यारेन्टी गर्नेगरी निजी क्षेत्र,किसान र सरकारको सहकार्यमा कृषिलाई प्रवद्र्धन गर्ने समेत बताए । । उहाँले सबै काम सरकारले गर्ने भन्दा पनि निजी क्षेत्रलाई नीनिगत रुपमा सहजिकरण गर्ने नीति सरकारको रहेको स्पष्ट पारे ।