• जेष्ठ ५ २०८१, शनिबार

एमाले पर्साको चुनावमा चरम विवाद, निर्वाचन कार्यालयमा तालाबन्दी

बैशाख २१ २०८१, शुक्रबार

वीरगन्ज । एमाले पर्साको पदाधिकारी तथा सदस्यहरू छनौटका लागि आज हुने भनिएको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । निर्वाचन प्रक्रियामा संस्थापन पक्षबाट धाँधली भएको भन्दै एक पक्षले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।

एमाले पर्साका नेता लालबाबु शेख पक्षधरले निर्वाचन समितिबाट धाँधली भइरहेको आरोप लगाउँदै तालाबन्दी गरेपछि अहिले निर्वाचन प्रक्रिया रोकिएको छ । बिहान ११ बजेदेखि हुने भनिएको निर्वाचन अहिलेसम्म मतदान प्रक्रियामा अगाडि बढ्न सकेको छैन ।

निर्वाचनमा अवैधानिक प्रतिनिधि छनौट, एक व्यक्तिको दुई ठाउँमा उम्मेदवारी मनोनयनसहित अन्य प्रक्रियामा संस्थापन पक्षले धाँधलीपूर्ण क्रियाकलाप गरेको भन्दै शेख पक्षधर समूहले निर्वाचन समितिको गेट अगाडि विरोध गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरी बाँकी प्रक्रिया स्थगन गरिएको थियो ।

शेख पक्षधरका हनिफ मियाँले निर्वाचनमा एकलौटी हुन थालेपछि आफूहरूको समूहले त्यसको विरोध गर्दै तालाबन्दी गरेको जनाएका छन् ।

उनले भने, ‘महानगरको ३ वडाका महेश दासको नाम ६ नम्बर वडाबाट नियम विपरीत सिफारिस भएको छ, एउटै व्यक्तिको सदस्य तथा अन्य पदमा उम्मेदवारी परेको छ । तर ऊ व्यक्ति एउटामा निर्विरोध भइसकेको छ भने अर्को पदमा दाबेदारी गरिरहेको छ । यस्ता गम्भीर त्रुटीहरू भेटिएपछि आफ्नो पक्षले विरोध गरेको हो । जसअनुरूप तालाबन्दी भएको हो ।’