• जेष्ठ ५ २०८१, शनिबार

युद्धकाबीच टर्कीले रोक्यो इजरेलसितको सम्पूर्ण व्यापार

बैशाख २१ २०८१, शुक्रबार

इस्तालबुल । इजरायल र हमासबीच २०० दिनभन्दा बढी समयदेखि भीषण युद्ध चलिरहेको छ । यसैबिच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायलसँगको व्यापार रोकेको छ । टर्कीको व्यापार मन्त्रालयले दुई देशबिचको आयात निर्यात रोकेको घोषणा गरेको हो ।

इजरायलबाट हुने आयात र त्यसतर्फ हुने निर्यातलाई रोकिएको र यसमा सबै सामानहरू पर्ने एक विज्ञप्तिमा बिहीबार मन्त्रालयले भनेको छ । इजरायल सरकारले गाजामा मानवीय सहायतालाई निर्बाध र पर्याप्त प्रवाहलाई अनुमति नदिएसम्म टर्कीले यी नयाँ उपायहरू कठोर र निर्णायक रूपमा लागू गर्ने बताइएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बन्दरगाहबाट इजरायलको आयात र निर्यातमा बाधा पुर्याएर सम्झौता उल्लङ्घन गरेको इजरायलका विदेशमन्त्री इजरायल काट्जले आरोप लगाएकै समयमा यो घोषणा गरिएको हो । सन् २०२३ मा दुई देशबिचको व्यापार ६ अर्ब ८० करोड डलर डलर थियो ।

गत वर्ष टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको थियो । गाजामा हवाई सहायता रोकेको र सैन्य कारबाही गरेको आरोप पनि उसले इजरायलमाथि लगाएको थियो ।