काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकारको सुरक्षाका लागि सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताएकी छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने कुरा बताएकी हुन् ।
“पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै सम्झौता गर्ने छैन । विभिन्न सञ्चारगृहमा देखिने श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रियाअनुसार श्रमजीवी पत्रकारका हक स्थापित गर्न सरकार प्रतिबद्ध छ”, शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले भनेकी छन् ।
मन्त्री शर्माले आज शुभकामना सन्देश जारी गरी सञ्चारजगत्लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गरेकाहरूप्रति सम्मान प्रकट गरेकी छन् ।