• जेष्ठ ५ २०८१, शनिबार

इराकमा समलैङ्गिक विवाह प्रतिबन्द, १० देखि १५ वर्ष कैद हुनसक्ने

बैशाख १६ २०८१, आईतवार

काठमाडौं । इराकको संसदले समलैङ्गिक सम्बन्धलाई अपराध घोषित गर्ने कानुन पारित गरेको छ । यो कानुन पारित भएसँगै अब इराकमा समलैङ्गिक सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्नेछ । नयाँ कानुनअनुसार ट्रान्सजेन्डरलाई पनि ३ वर्षसम्म जेलमा हाल्न सकिनेछ ।

यो कानुनका समर्थकहरूले कानुनका माध्यमबाट देशमा धार्मिक भावनाको रक्षा गर्ने दाबी गरेका छन् । इराकमा अब समलैङ्गिकता या वेश्यावृत्तिलाई बढावा दिने तथा लिङ्ग परिवर्तन गर्न शल्यक्रिया गर्ने चिकित्सकलाई समेत जेल सजाय हुनेछ ।

यसका साथै जानीबुझी महिलाको जस्तो व्यवहार गर्ने पुरुष तथा पत्नी साटफेरमा सामेल हुनेलाई पनि कानुनअनुसार कारबाही हुनेछ । समलैङ्गिक सम्बन्ध बनाउन उक्साउनेहरूलाई ७ वर्ष जेल सजायको प्रावधान राखिएको छ ।

सन् १९८० मा इराकमा ‘प्रोस्टिच्युसनल कानुन’ मा परिवर्तन गरेर समलैङ्गिक सम्बन्ध बनाउनेलाई मृत्युदण्डको व्यवस्था गरिएको थियो, जसलाई लिएर अमेरिकासहित पश्चिमा मुलुकले विरोध गरेका थिए । यसमा पुनः संशोधन गरिएको हो ।

इराकका सांसद आमिर अल मामुरीले इस्लामिक र सामाजिक मूल्यका विरुद्ध जानेलाई लगाम लगाउन यो कानुन आवश्यक भएको दाबी गरेका छन् । यो कानुन अप्रिलको सुरुमा नै पारित हुने थियो ।

तर, इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीको अमेरिका भ्रमणका कारण रोकिएको थियो । इराकमा पारित भएको नयाँ कानुनको अमेरिका र युरोपेली देशले विरोध गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले यो कानुन मानवअधिकारका लागि खतरा भएको बताएका छन् ।

यसले इराकको अर्थव्यवस्था र विदेशी लगानीमा पनि असर पर्ने चेतावनी दिएका छन् । यस्तै, ब्रिटेनका विदेशमन्त्री डेभिड क्यामरुनले यो कानुन खतरनाक र चिन्ताजनक भएको बताएका छन् । उनले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई उसको पहिचानका आधारमा टार्गेट गर्नु हुँदैन ।

हामी इराक सरकारसँग मानअधिकार र मानिसको स्वतन्त्रताको रक्षा गर्न आग्रह गर्दछौँ ।’ अमेरिका, नेदरल्यान्ड, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स र जर्मनीले समलैङ्गिक विवाहलाई कानुनी मान्यता दिएका छन् । भारत, चीन, श्रीलंका, ब्रिटेन, रुस, नेपालसहितका देशमा समलैङ्गिक विवाहलाई अपराध मानिदैन भने पाकिस्तान, इरान, युगान्डा, यमन, साउदी अरब र सोमालियाजस्ता देशले समलैङ्गिक विवाहलाई अपराधको सूचीमा राखेका छन् ।