• जेष्ठ ५ २०८१, शनिबार

महिलामाथि आक्रमण बढेपछि अष्ट्रेलियामा राष्ट्रिय आपतकाल घोषणाको माग

बैशाख १६ २०८१, आईतवार

क्यानबेरा । अष्ट्रेलियामा शृंखलाबद्ध रूपमा महिलामाथि हिंसा बढ्दै गएपछि आइतबार देशभर प्रदर्शन भएको छ । प्रदर्शनकारीले लिंगमा आधारित हिंसाविरुद्धमा राष्ट्रिय आपतकालको घोषणा गरिनुपर्ने र यस्ता गतिविधि रोक्नको लागि कडा कानुन ल्याउनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो मुद्दालाई राष्ट्रिय संकटको विषय भएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रम आयोजक मार्टिना फेरेराले सरकारले यो मामिलालाई आपतकालीन अवस्थाको रूपमा बुझेर तत्काल कदम चाल्नुपर्ने बताइन् । राजधानी क्यानबेरामा प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानीले सबै तहबाट यसका लागि राम्रो गर्नुपर्ने अवस्था देखिएको बताए ।

“हामी बदलिएको संस्कृति, प्रवृत्ति र कानुनी प्रणाली चाहन्छौं र यसमा सबै सरकारले पहल गर्नु जरूरी छ,” उनको भनाइ छ । हिंसा अन्त्यका लागि महिलाको मात्र होइन पुरुषको पनि बानी व्यहोरा परिवर्तन गर्नुपर्ने उनले बताए ।

पछिल्ला दिनमा अष्ट्रेलियामा महिलामाथि आक्रमणका घटना बढ्दै गइरहेको पाइएको छ । महिलाको हत्याका कारणले पनि यो मुद्दालाई सतहमा ल्याइदिएको छ । यो महिनाको सुरूमा सिड्नी सपिङ सेन्टरमा एक व्यक्तिले चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको थियो ।

तीमध्ये ५ जना महिला थिए । प्रहरीले महिलालक्षित आक्रमण भयो भनेर अनुसन्धान गरिरहेको जनाएको छ । २०२४ को सुरूको ११९ दिनमा २७ महिला मारिएको तथ्यांकमा जनाइएको छ ।