• जेष्ठ ५ २०८१, शनिबार

अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध कानूनी लडाइँ लड्ने तयारीमा टिकटक

बैशाख १३ २०८१, बिहीबार

काठमाडौं । टिकटकले अमेरिकी सरकारले लगाउन खोजेको सम्भावित प्रतिबन्धविरूद्ध कानुनी लडाइँ लड्ने भएको छ ।
अमेरिकी संसदले मंगलबार टिकटक सम्बन्धी विधेयक पास गरेपछि टिकटकका सिइओ झोउ शौजीले त्यसविरूद्ध कानुनी लडाइँमा जाने तयारी भइरहेकाले प्रयोगकर्ताहरूलाई नहतासिन भनेका छन् ।

‘हामी कहीँ जाँदैनौं, सरकारले ल्याएको विधेयकविरूद्ध अदालत जानेछौं र यसमा हामी विश्वस्त पनि छौं,’ सिइओ शौजीले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।

चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै फागुन अन्तिममा अमेरिकी तल्लो सदनले विधेयक पास गरेको थियो । उक्त विधेयकमा टिकटक अमेरिकालाई नबेचे प्रतिबन्ध लगाइने भनिएको थियो ।
मंगलबार माथिल्लो सदनले पास गरी बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले प्रमाणीकरण समेत गरिसकेका छन् ।

अमेरिकामा पनि टिकटक बन्द गर्न नहुने पक्षमा ठूलै जमात छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक एलन मस्कले टिकटक बन्द गरिनु नागरिकहरूको वाक स्वतन्त्रतामाथि बन्देज लगाउनु रहेको बताउँदै सरकारले यसबारेमा सोच्नुपर्ने भनेका थिए ।

चिनियाँ कम्पनी बाइटडान्समाथि आफ्ना नागरिकहरूको विवरण संकलन गरेर चीन सरकारलाई दिएको आरोप अमेरिकाको छ । उक्त आरोपलाई टिकटकले खण्डन गर्दै आइरहेको छ ।

राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेसँगै विधेयक कार्यान्वयनको प्रक्रियामा गएको छ । यथास्थितिमा टिकटक बिक्री गर्नका लागि हाल टिकटक बनाउने चिनियाँ कम्पनी बाइटडान्सलाई ९ महिनाको समय उपलब्ध हुनेछ । त्यस समयभित्र टिकटक बेच्ने प्रक्रिया सुरू भए थप तीन महिनाको समय उपलब्ध हुने विधेयकमा उल्लेख रहेको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

यसको अर्थ अमेरिकामा टिकटक तत्काल बन्द हुने भने होइन तर त्यस अवधिमा प्लेस्टोर र एप्पल स्टोरमा भने टिकटक एप नदेखिने बताइएको छ ।

मोबाइलमा डाउनलोड भएका टिकटक भने चलिरहने तर त्यसमा कम्पनीले अपडेट फिचर पठाउन नसक्ने समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ । अमेरिकामा १७ मिलियन टिकटक प्रयोगकर्ता छन् ।