• बैशाख २३ २०८१, आईतवार

विपिन जोशीको रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता

बैशाख १२ २०८१, बुधबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाका लागि पहल गर्ने गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेख बिच आज भएको एक्ला एक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए ।
हमास र इजरायल बिच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाटमा विपिन जोशीको रिहाका लागि अमिर शेखलाई पहल गर्न आग्रह गरिएको थियो । त्यहाँ पनि अमिर शेखले आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाएका थिए ।

कतारी राजा नेपाल भ्रमणमा आउने भएपछि विपिन जोशीका परिवार काठमाडौँ आएर राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड दुवै जनालाई भेटेर जोशीको रिहाका लागि पहल गरी दिन कतारका राजा शेखलाई आग्रह गर्नका भनेका थिए ।
नेपाल र कतारको बिच रहेको श्रम सहकार्यको क्षेत्रलाई पनि अगामी दिनमा विस्तार गर्ने विषयमा पनि कुराकानी भएको सल्लाहका सापकोटाले बताए ।
श्रम सहकार्यमा भएको कार्यलाई अझै नयाँ ढङ्गबाट अगाडि बढाउनेमा दुवै पक्ष सहमत भएको र त्यसमा चाँडै नै छलफल गरेर अगाडि बढ्ने कुराकानी भएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भेटघाटको क्रममा नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा कतारको तर्फबाट लगानीका लागि आग्रह गरेको बताइएको छ ।
लगानीको सम्भावित क्षेत्रको बारेमा प्रधानमन्त्री प्रचण्डले कुरा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले कृषि, शिक्षा, स्वास्थ्य, कनेक्टभिटीलगायतका क्षेत्रमा लगानी गर्न सक्ने सम्भावित क्षेत्रको विषयमा कुरा राखेका थिए । कतारको तर्फबाट अमिर शेख लगानीका लागि सकारात्मक रहेको र त्यसका लागि दुवै देशले छलफल गरेर प्रक्रियालाई अगाडि बढाउने कुराकानी भएको बताइएको छ ।

नेपाल र कतारको बिचमा हुने सहयोग र सहकार्य हुने सम्भावित क्षेत्रको बारेमा अध्ययन गर्न दुवै पक्षबाट कार्यदल बनाउने सहमति भएको सल्लाहकार सापकोटाले बताए । लगानी सम्मेलनमा मात्र होइन, अगामी दिनमा पनि कसरी एक अर्का देशको बिचमा सहकार्य र सहयोग गर्न सकिन्छ त्यसको बारेमा अध्ययन तथा कार्यान्वयनका लागि सो कार्यदल बनाउने सहमति भएको उनले बताए ।
दुई नेताहरूको बिचमा विश्वमा भइरहेको भूराजनीतिक द्वन्द्वमा कतारले शान्ति स्थापना तथा वार्ताका लागि कतारले खेलेको भूमिकाको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरेका थिए ।