• बैशाख २३ २०८१, आईतवार

रुढीग्रस्त अमेरिका : सूर्य ग्रहणमा कोहीले थाल ठटाए, ४ सय जोडीले लगनगाँठो कसे

चैत्र २७ २०८०, मंगलवार

काठमाडौं । सूर्य ग्रहणका कारण उत्तर अमेरिकाका मेक्सिको, अमेरिका र क्यानडामा ४ मिनेट २८ सेकेन्डसम्म दिउँसै रातजस्तो अँध्यारो भयो । ५४ देशमा आंशिक सूर्यग्रहण देखियो । गार्जियन पत्रिकाका अनुसार अमेरिकाका अलग–अलग क्षेत्रमा ग्रहण हेर्नका लागि ५० लाख मानिसहरू भेला भएका थिए ।

अमेरिकाको आर्कान्सास राज्यमा ग्रहणको समय पारेर ४ सय जोडीले विवाह गरेका छन् । नासाका अनुसार अमेरिकामा अब २१ वर्ष अर्थात् सन् २०४५ सम्म यस्तो सूर्य ग्रहण देख्न पाइने छैन । सन २०१७ मा उत्तर अमेरिकामा पहिलोपटक यस्तो ग्रहण देखिएको थियो । नासाका अनुसार पूर्ण सूर्य ग्रहणको अवधि १० सेकेन्डदेखि ७ मिनेटसम्म हुन सक्छ । २०१७ को ग्रहणको अवधि २ मिनेट ४२ सेकेन्ड थियो ।

सोमबार भने ४ मिनेट २८ सेकेन्डसम्म सूर्य पूर्णरूपमा ढाकिएको थियो । ग्रहणको सुरुवाती झलक मेक्सिकोको माजतलानमा र अन्तिम झलक

क्यानडाको न्यु फाउन्डल्यान्डमा देखियो । अमेरिकाको पूर्ण सूर्यग्रहणको बाटोमा ३ करोड मानिसको बसोबास छ । ग्रहण सुरु भएदेखि पूर्ण ग्रहण लाग्नेसम्मको समय ८० मिनेटको रह्यो ।
सूर्य ग्रहणलाई लिएर अमेरिकामा पनि केही रुढिवादी परम्परा देखिए । अमेरिकाका केही आदिवासी समुदायले ग्रहण छिटो हटोस् भनेर घरबाहिर निस्किएर थाल ठटाएका थिए ।

आर्कान्सासमा सूर्य ग्रहणको केक काटेर ४ सय जोडीले लगनगाँठो कसे । सूर्यग्रहण एक खगोलीय घटना हो । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दा सूर्य ग्रहण लाग्ने गर्छ ।