• जेष्ठ ५ २०८३, मंगलवार

भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ

चैत्र ५ २०८०, सोमबार

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबार नेपाल–भारत विद्युत् व्यापार सम्झौताविरुद्धको रिटमा सुनुवाइ भइरहेको छ ।

गत फागुन २२ गते सो सम्झौताका विषय राष्ट्रिय महत्त्वका भएको भन्दै निरन्तर सुनुवाइको आदेश गरिएको थियो । फागुन २९ मा न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासमा परेको रिट ‘हेर्दैहेर्दै’मा राखिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भारतसँगको विद्युत् व्यापार सम्झौता नेपालको संविधानविपरीत भएको भन्दै रिट दायर गरेका थिए । फागुन २९ मा पनि न्यायाधीशत्रय राउत, मल्ल र पौडेलको इजलासमा एउटा मात्र मुद्दा रहेको थियो । यो मुद्दा अब यही इजलासले टुंग्याउनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारत विद्युत् व्यापार सम्झौताको प्रक्रिया अघि बढाइएको थियो । भारतीय पक्षले आवश्यक तयारी गरेपछि सम्झौता गरिएको हो ।