काठमाडौं । लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ का २९ वर्षीय रोशन राई रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार निजलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने र गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो । इलाम नगरपालिका–९ का २५ वर्षीय विकास बसेलसमेत तीन जनालाई अवैध लागुऔषध खैरो हेरोइन ३७ ग्राम पाँच सय मिलीग्राम र डिजिटल तराजु एक थानसहित गत २६ साउनमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान एवम् सोधपुछका क्रममा उक्त लागुऔषधको कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तराष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत २५ पुसमा राईविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता ढकालले बताए ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।