• जेष्ठ ५ २०८३, मंगलवार

सुनको सिक्री दाइजो नपाएपछि विहे नै अस्वीकार गर्ने दुलाहा सहित ८ जना पक्राउ

फाल्गुन २९ २०८०, मंगलवार

बारा । सुनको सिक्री दाइजो नपाउँदा विवाह गर्न अस्वीकार गरेपछि बेहुला पक्राउ परेका छन् । दाइजोमा दिने भनिएको सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेर बेहुला मण्डपबाटै उठेपछि पक्राउ परेका हुन् ।

बेहुला बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमा चोकका उमेश साहसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिकामा–२४ वर्षीया युवतीसँग सोमबार राति साहको विहे तय भएको थियो । वरमाला विधि भइसकेपछि बेहुलाले सुनको सिक्री नदिएको भन्दै विवाह गर्न इन्कार गरेपछि विवाद भएको थियो ।

बेहुला पक्षले जन्ती फर्काएपछि बेहुलासहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बेहुला पक्षका केहीलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको उनले बताए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

१२ लाख रुपैयाँ, मोटरसाइकलबापत तीन लाख २५ हजार रुपैयाँ, एक थान ल्यापटप तथा एक–एक थान सुनको औँठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा विवाह तय भएको बताइएको छ । ती सबै सामान बिहेअघि नै दिइसकेको बेहुली पक्षले बताएको छ ।