• जेष्ठ ५ २०८३, मंगलवार

महिलाहरुलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न थप उर्जा र प्रेरणा मिलोस् : प्रधानमन्त्री प्रचण्ड

फाल्गुन २५ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण सङ्‍घ संस्था तथा व्यक्तिहरूमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्‍चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण समेत गरेका छन् ।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ। सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ। महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्‍न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको उल्लेख गर्दै देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्‍न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले  ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्पूर्ण सरोकारवाला निकायहरूलाई महिला सहभागिता, सशक्तिकरण, समानता, प्रतिनिधित्व एवम् क्षमता विकासका लागि आ-आफ्नो तर्फबाट जिम्मेवार र उत्तरदायीपूर्ण तवरबाट कार्य गर्न थप उर्जा र प्रेरणा मिलोस् भन्‍ने शुभकामना व्यक्त गरेका छन् ।