फागुन २२, काठमाडौं । गलत प्राविधिक मूल्यांकन प्रतिवेदन बनाई काम नै नगरेको योजनाको भुक्तानी दिएको भन्दै अख्तियारले हुम्लाको चंखेली गाउँपालिकाका पूर्वअध्यक्षसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आव ०७४.७५ मा चंखेली–३ को मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा गलत प्राविधिक मूल्यांकन प्रतिवेदन बनाई भुक्तानी दिएको भन्दै अख्तियारले तत्कालीन अध्यक्ष धनलाल चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र असिस्टेन्ट सबइन्जिनियर अजय भन्ने अजबहादुर बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यसैगरी, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंसबहादुर ऐडी तथा चंखेली गाउँपालिका–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडीलाई पनि प्रतिवादी बनाइएको छ । टेकबहादुर र हंसबहादुरले सम्झौता बमोजिमको कुनै कार्य नगरी झुठा कागजात पेस गरी १० लाख २९ हजार तीन सय २५ रुपैयाँ भुक्तानी लिएको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार वडाध्यक्ष ऐडीले बाटो निर्माण योजनामा नगरेको कामलाई कार्य सम्पन्न भएको भनी गाउँपालिकालाई सिफारिस गरेका थिए ।