काठमाडौं । काठमाडौंसहित देशभर प्रिमनसुन वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो । महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ ।
प्रिमनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौंसहित देशभर वर्षा भएको हो । ‘मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो । आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ,’ पुडासैनीले भने ।
प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसमविद पुडासैनीको भनाइ छ । मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ । नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जून १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविदको भनाइ छ ।
अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ । आज देशभरका धेरै स्टेसनहरूमा वर्षाको रेकर्ड भएको मौसमविद पुडासैनीले बताए ।
नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ । भोलि सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।