• जेष्ठ ५ २०८३, मंगलवार

काम दिनुको साटो ‘टिकटक चलाएर बस’ भनेपछि बालेनविरुद्ध कानूनी लडाइँ लड्ने बालेनकै कर्मचारीको चेतावनी

फाल्गुन १६ २०८०, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी वरिष्ठ कानुन अधिकृत हरिमाया घिमिरे (सस्मिता)ले मेयर बालेन्द्र शाह बालेनविरुद्ध कानुनी र पेसागत लडाइँ लड्ने घोषणा गरेकी छन् ।

मेयर शाहले अनावश्यक टर्चर दिएको र बिनाकारण जिम्मेवारीविहीन बनाएको भन्दै उनले कानुनी र पेसागत लडाइँ सुरु भएको घोषणा सामाजिक सञ्जालबाट गरेकी हुन् ।

उनले बिनाकारण आफूलाई जिम्मेवारीविहीन बनाएर राखिएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको आरोप लगाएकी छिन् । घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीमा अनियमित ढंगले पैसा खर्च गरेको आरोप पनि लगाएकी छन् ।

उनले आफूलाई जिम्मेवारी अनुसारको काम दिन आग्रह गर्दा तलब खाएर टिकटक चलाएर बस्न भनिएको आरोप पनि लगाएकी छन् । आरोपबारे मेयर बालेनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।