काठमाडौं । कमिसन खाएको आरोपमा बर्दियाको बढैयाताल गाउँपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले बुधबार उनलाई कालोमोसो दलेको हो । सो संगठनको प्रदेश नं. ६ समितिले कालोमोसो लगाइएको जिम्मा लिएको छ । साथै मोसो दल्नुका ८ वटा कारणहरु समेत सार्वजनिक गरिएको छ ।
राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन भत्ता नदिई कमिसनको लागि आफ्नो अनुकूलको अर्कै विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालयमा विज्ञान ल्याबको खरिद सामाग्री शिक्षा शाखाले तोकेको पसलबाट मात्र किन्नु पर्ने भनि विद्यालय व्यवस्थापन समितिलाई दबाब दिने गरेको, करार शिक्षक नियुक्तिको लागि विषय विज्ञ सूचिकृत नगरि कमिसनको लागि आफू अनुकूलको विषय विज्ञ राखि करार शिक्षक नियुक्ति गर्ने गरेको, विव्यस गठन सर्वसम्मत भएका विद्यालयहरुमा पनि प्र.असँग दबाब पूर्ण ढंगले भत्ता उठाउने गरेको, आफू अनुकूलको अडिटर विद्यालयहरुमा लेखा परिक्षण गर्न पठाई विद्यालयलाई बढि आर्थिक भार पर्ने गरि अडिट गर्न लगाउने गरेकोले कालोमोसो दलिएको संगठनले बताएको छ ।
साथै विव्यसको अधिकारमाथि हस्तक्षेप गरि, विद्यालयको आन्तरिक श्रोतबाट शिक्षक नियुक्ति गर्न समेत शिक्षा प्रमुख बोलाउन पर्ने नियम बनाई कमिसनको लागि शिक्षक नियुक्तिमा अस्वछ प्रतिस्पर्धा गराउने गरेको, विद्यालयमा अनुगमन तथा निरिक्षणको नाममा प्र.अ.र शिक्षकहरुलाई अपमान र अभ्रद व्यवहार गर्ने गरेको र कमिसन मार्फतको अवैध रकम जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका जिल्ला शिक्षा अधिकारीका निजी चालक गगनसिंह धामी र अन्य व्यक्तिमार्फत् लिने गरेकोले कालोमोसो दलिएको समेत संगठनको आरोप छ ।
उक्त संगठनले केही दिन अघिमात्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई समेत भ्रष्टाचारको आरोप लगाएर कालोमोसो लगाएको थियो ।