• जेष्ठ ५ २०८३, मंगलवार

कपिलवस्तुका कुर्मीको हत्यामा संलग्नताको आरोपमा श्यामकुमार र पुष्पादेवी पक्राउ

फाल्गुन १२ २०८०, शनिबार

काठमाडौं । कपिलवस्तुको महराजगञ्ज नगरपालिका-६ भलवारीका २७ वर्षीय शिवकुमार कुर्मीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरीका श्यामकुमार उपाध्याय र उनकी दिदी पुष्पादेवी (गुडिया) रहेको प्रहरीले जनाएको छ ।

गत फागुन ५ गते महाराजगंज नगरपालिका-४ पिपरी गाउँ नजिकै कुलोमा गाडिएको अवस्थामा टाउको काटिएको शव फेला परेको थियो । त्यसको ६ दिनपछि शुक्रबार प्रहरीले ज्यान गाडिएको नजिकै अर्को खाल्डो खनेर गाडिएको अवस्थामा टाउको फेला पारेको थियो । त्यसपछि मात्रै शवको पहिचान भएको थियो ।

प्रहरीले शवको पहिचान भए लगत्तै श्यामकुमार र उनकी दिदी पुष्पादेवीलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।

दुबैजनालाई शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको उनले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकी गुडिया र मृतकबीच विवाहोत्तर सम्बन्ध रहेको पत्ता लगाएको थियो ।
शिवकुमार र गुडिया दुवै विवाहित हुन् ।

गुडियाका श्रीमान वैदेशिक रोजगारमा छन् । उनीहरू प्रेम सम्बन्धमा रहेको भाइसँग मिलेर गुडियाले शिवकुमारको हत्या गरेको प्रहरीको अनुमान छ । शव गाडिएको स्थानदेखि दक्षिणतर्फको खेतमा मृतक र हत्याराहरू बीच संघर्ष भएको निशान समेत प्रहरीले भेटेको थियो । यी सबै विषयमा थप अनुसन्धान भइरहेको डिएसपी वलीले जानकारी दिए ।