काठमाडौं । गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्काले आफूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा र सहदेव कक्षपतीले अपहरण गरेर आठ घण्टासम्म बन्धक बनाई करोडौँको फिरौती रकमबापत कागज गराएको आरोप लगाएका छन् ।
गत पुस २३ गते भएको घटनाबारे उनले आज मात्रै सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । आफू र परिवारलाई सुरक्षित स्थानमा सारेर मात्रै घटनाबारे खुलासा गरेको उनको भनाइ छ ।
खड्काले सामाजिक सञ्जालमार्फत् दिएको जानकारी अनुसार २३ पुसमा लामा र कक्षपती लगायतले उनलाई ललितपुरको धोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरी सानेपास्थित एक होटलमा आठ घण्टासम्म बन्धक बनाएका थिए ।
सो क्रममा धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौँको लेनदेनमा आफू सही गर्न बाध्य भएको खड्काले बताएका छन् ।
डाँकाहरूलाई पैसाको मोह भएजस्तै आफूलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै घटनाबारे सार्वजनिक जानकारी दिन नसकेको बताउँदै उनले आफू र परिवारलाई सुरक्षित स्थानमा सारेर घटनाबारे खुलासा गरेको उल्लेख गरेका छन् ।
उनले घटनापछि आफूले सम्पूर्ण कानुनी प्रक्रिया अपनाएर पीडकलाई कारबाहीसहित न्यायको माग राख्दै प्रहरीमा उजुरी गरिसकेको जानकारी पनि दिएका छन् । अहिले पीडकहरूले आफूलाई मिलापत्रका लागि दबाब दिइरहेको पनि उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय सदस्य लामा र कक्षपती गुण्डा नाइकेका रूपमा परिचित छन् । उनीहरू यसअघि पनि थुप्रै अपराधका घटनामा संलग्न रहेका व्यक्ति रहेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान सुरु गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।