काठमाडौं । काठमाडौंको नेपाल प्रहरी प्रभाग बलम्बुमा आइतबार साँझ गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख एवम् एआईजी दीपक थापाका अनुसार, डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो ।
बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए । उनका अनुसार, घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।