• जेष्ठ ६ २०८३, बुधबार

रवि लामिछाने पनि सम्पत्ति शुद्धीकरणमा तानिए

फाल्गुन २ २०८०, बुधबार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो ।

यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईकाे विवरण मागेको विषय हालै सार्वजनिक भएकाे छ । चिट्ठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ ।

राई सूर्यदर्शन लगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । लामिछाने राईका व्यापारिक साझेदार हुन् । ग्यालेक्सी फोरके टीभीमा राईसँग लामिछाने साझेदार थिए ।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई, एभरेस्ट, एनआईसी एशिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिट्ठी लेखेको छ ।

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरबाट बरामद भएको सर्भरमा सहकारीको सम्पूर्ण कारोबारको विवरण भेटिएकाे सार्वजनिक भएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकहरूलाई पत्र पठाएकाे विषय पनि बाहिर आएकाे हाे ।