• जेष्ठ ६ २०८३, बुधबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन कमलेस डिसी र सहप्राध्यापक दासले सफाई पाए

फाल्गुन २ २०८०, बुधबार

काठमाडौं । पास भएका परीक्षार्थीलाई फेल गराएर त्यसको ठाउँमा फेल भएकालाई पास गराएको भन्दै परेको मुद्दामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक र सहायक डिनलाई विशेष अदालतले सफाई दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीश तेज नारायण सिंह राई र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहप्राध्यापक विनयकुमार दास र परीक्षा समितिका संयोजक सहायक डिन कमलेस डिसीलाई सफाई दिएको हो ।

विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकाय डिनको कार्यालयले १९ माघ ०७७ मा सूचना प्रकाशित गरी लिएको परीक्षामा हिनामिना गर्ने अंग्रेजी संकायका विज्ञ सहप्राध्यापक विनयकुमार दास र परीक्षा समितिका संयोजक सहायक डिन कमलेस डिसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सहप्राध्यापक दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अंक प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अंकलाई पटकपटक केरमेट गरी (घटाएर) अनुत्तीर्ण गरे–गराएको देखिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।