• जेष्ठ ६ २०८३, बुधबार

सुनिल र विकललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

फाल्गुन २ २०८०, बुधबार

काठमाडौं । सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल थप १० दिन हिरासतमै रहने भएका छन् ।

विशेष अदालतले उनीहरु दुबै जनालाई थप २१० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरु थप १० दिन हिरासतमै रहने भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले दुबै जनाविरुद्ध १० दिनको म्याद थप भएको बताए ।

उनीहरु दुबै जनालाई माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । त्यसयता उनीहरु अख्तियारको हिरासतमा छन् ।

पक्राउ परेपछि पहिलो पटक म्याद थपका लागि अदालत उपस्थित गराउँदा उनीहरुले हिरासतमा नराख्न भन्दै आफ्नो तर्फबाट वकिल उतारेर बहससमेत गराएका थिए। सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि उनीहरु निलम्बित भएका थिए ।

२०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।

मुद्दा दायरपछि दुवै निलम्बनमा छन् । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु पक्राउ परेका हुन् ।