काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामाथि रुकुम जिल्ला अदालतले सुनाएको फैसलाको पूणर्पाठ आएको छ । तीन वर्षअघि २०७७ जेठ १० गते भएको घटनामाथि तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंसिर १९ गते अन्तिम फैसला सुनाएको थियो ।
मुद्दामा प्रतिवादी बनाइएकामध्ये कैद सजाय फैसला सुनाइएका व्यक्तिहरूले हुल बाँधेर लखेट्दै कुटपिट गरेर युवाहरूको हत्या गरेको अदालतको पूणर्पाठमा उल्लेख छ ।
‘निर्दयी किसिमले बाँधी मारेको भन्ने कुरा मिसिलबाट संलग्न प्रमाणबाट प्रमाणित हुन नआए पनि प्रतिवादीहरूले हुल बाँधी लखेट्दै, हान्दै नवराज विक, गणेश बुढा, सञ्जु विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली र गोविन्द शाही समेतलाई भेरी नदीको भङ्गालोमा पुर्याइ कुटपिट गरेको मिसिल संलग्न बकपत्रबाट स्पष्ट खुल्दछ,’ पूणर्पाठमा भनिएको छ ।
कसले कसलाई कुटेर कसको मृत्यु भएको भन्ने छुट्टाछुट्टै भूमिका स्पष्ट नभए पनि हुल बाँधेर गरिएको आक्रमणबाट युवकहरूको मृत्यु भएको पूणर्पाठमा उल्लेख छ ।
‘हुल बाँधी थुनछेक गर्दै बाटो छेक्दै घेराहाली मृतक नवराज विक समेतलाई भेरी नदीको भंगालोमा पुर्याई कसैले माथिबाट ढुंगा हान्ने, कसैले नदीको भंगालोमा पुगेका व्यक्तिलाई त्यहीँ पुगी हानी नदीमा बगाइदिने कार्यको परिणामस्वरूप उनीहरूको मृत्यु भएको देखिन्छ,’ फैसलाको पूणर्पाठमा भनिएको छ, ‘यसरी वारदातमा उल्लिखित प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात घटाएको हो ।’
यसमा कसले बढी कुट्यो, कसले कम, कसको प्रहार प्राणघातक भयो अथवा कुनै कसैले कुटेन जस्ता तथ्य प्रासंगिक नभएको फैसलामा उल्लेख छ ।
‘यसमा ज्यान लिने अथवा सामूहिक कुटपिट गर्ने मनसाय भई सो सन्दर्भमा समूहमा बसी एकअर्कालाई उकासी, हौसाई अथवा हातै हाली कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा सहभागी भएको मानिने र समान सजायको भागीदार हुने ठहर्छ ।’
कानुनका विभिन्न सिद्धान्तका आधारमा हेर्दा सोती घटनामा प्रतिवादीहरूको सामूहिक सक्रियताका कारण मृतकहरूलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएको अदालतले फैसलामा विश्लेषण गरेको छ । अदालती तथा अनुसन्धान प्रक्रियाबाट भेटिएका आधार र प्रमाणका आधारमा प्रतिवादीहरू डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका-८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुनमगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्लठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुनमगर, इन्द्रबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (१) र दाजु ५४ रुकुम पश्चिम ३६ (३) लाई जन्मकैद सजाय फैसला ठहरिएको उल्लेख गरिएको छ ।
उनीहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) को कसुर गरेकाले प्रतिवादीहरूलाई १७७ (२) बमोजिम जन्मकैद सजाय ठहरिएको पूणर्पाठमा उल्लेख छ। जन्मकैद २५ वर्ष हुन्छ । अदालतले नवराजकी प्रेमिकाका भाइलाई उमेरका आधारमा २५ वर्षभन्दा कम कैद सजाय सुनाएको छ । जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
नवराजकी प्रेमिका र उनकी आमालाई भने जातीय विभेदमा २ वर्ष कैद सुनाइएको छ । तर उनी नाबालिग भएकाले १ वर्ष ४ महिनामात्र कैद बसे पुग्ने फैसलामा उल्लेख छ । फैसला अनुसार प्रेमिकाले नवराजलाई जातीय विभेदजन्य गाली गरेको उनको मोबाइल मेसेजबाट देखिएकोले उक्त सजाय सुनाइएको हो ।
उनकी आमाले नवराजलाई अमर्यादित भाषा प्रयोग गरी जातीय विभेदजन्य शब्द प्रयोग गर्दै होच्याएर कानुनविपरित व्यवहार गरेको र त्यसमा अन्य प्रतिवादीहरुले साथ दिएबाट जातीय तथा अन्य सामाजिक छुवाछुत विरूद्ध कसुर गरेको पु्ष्टी हुने फैसलामा उल्लेख छ ।
‘जातीय विभेद तथा छुवाछुतजन्य कार्य आफै गर्ने तथा अरुमार्फत् गराउने कुरालाई मात्रै निषेध गरिएको नभएर त्यस्तो भेदभाव तथा छुवाछुतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उकास्ने कार्यलाई समेत वर्जित गरी दण्डनीय बनाईएको छ,’ पूणर्पाठमा भनिएको छ, ‘कसैले कसैउपर कुनै विभेदजन्य काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछुत गरेको मानिने व्यवस्था छ ।’
पूणर्पाठमा घटनाको मुख्य कारण दलित समुदायका युवक र कथित गैरदलित समुदायकी युवतीबीचको प्रेम सम्बन्ध र छुवाछूतको आधारमा गरिने बन्देजलाई मानिएको छ । नवराज विकले आफ्नी प्रेमिकालाई फकाएर भागी विवाह गर्ने, नभए जर्बजस्ती गर्ने र युवती पक्षले दलित समुदायमा छोरीको विवाह हुनबाट रोक्ने दुवै पक्षको पूर्व तयारी एवम् सतर्कता अपनाउने क्रममा घटना घटेको उल्लेख पूणर्पाठमा गरिएको छ ।
नवराज र युवतीबीच रहेको प्रेम सम्बन्ध र बीचमा आएको मनमुटाव पनि घटनाको अर्को कारण मानिएको छ । प्रेम सम्बन्धमा रहेका बेला नवराज साथीसँग बेलाबेला युवतीको घर जाने गरेको र एकपटक युवती तर्फकाले उनलाई प्रहरी थुनामा पठाएपछि दुई जनाबीच मनमुटाव सिर्जना भएको फैसलामा उल्लेख छ । दुई जनाबीच मनमुटाव पैदा भएपछि नवराजले युवतीलाई जबर्जस्ती भए पनि आफ्नो बनाउने हठ गरेको विभिन्न व्यक्तिको बयानबाट खुलेको पूणर्पाठमा उल्लेख छ ।
२०७७ जेठ १० गतेको जातीय नरसंहारका रूपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका-४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका-११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भयो । उनीहरूको शव फरकफरक दिन, फरक स्थानमा भेरी नदीमा फेला परेको थियाे ।
घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गर्यो । बाँकी १४ जनालाई पक्राउ परेकाहरूको बयानका आधारमा पक्राउ गरिएको थियो । सरकारी वकिल कार्यालयमार्फत् ३४ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो ।
उनीहरूमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो । गएको मंसिरमा भएको घटनामाथिको अन्तिम सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए । सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका थिए भने ५ जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका थिए ।