काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरेको तीन महिना बढी भइसकेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयपछि टिकटक प्रतिनिधिले सरकारलाई खोल्न दबाब बढाएको पाइएको छ।
२०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । बन्द भएपछि टिकटक प्रतिनिधिको एक टोली माघको दोस्रो साता काठमाडौं आएर फर्केका थिए।
सरकारको निर्णय पुनर्विचार गर्न आग्रह समेत गरेकाे थियो। टोलीले विभिन्न समूह, व्यक्तिसँग छलफल गरेर फर्केको थियो। फेरि एक टोली नेपाल आएको बताइएको छ।
सरकारले टिकटक प्रतिनिधिको आग्रहलाई नटेरेपछि फेरि आग्रहका लागि नेपाल आएको बताइएको छ।
प्रहरीको साइबर ब्युरोसँग छलफल गराइदिन समेत टिकटकका प्रतिनिधिले आग्रह गरेको बताइएको छ। प्रतिनिधि टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग बिहीबार भेट गरेको बताइएको छ। मुख्यता: टिकटकमाथिको प्रतिबन्ध खुलाउन आग्रह गरेको स्रोतको दाबी छ।
सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेपछि सर्वोच्च अदालतमा १४ वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए।
ती मुद्दा सर्वोच्चमा अझै पनि विचाराधीन छन्। सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै सरकारको निर्णय सदर गरिदिएको थियो।