तानसेन । पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ काहुलेमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा सोमबार आफ्नै घरमा मृत फेला परेका हुन् । अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन् । प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ ।
श्रीमती श्यामकलाको घाँटीमा निलडाम देखिएको छ । स्थानीयका अनुसार उनीहरूका तीन जना छोरी छन् । चार वर्ष अघि एकजना छोराको मृत्यु भएको थियो ।
छोराको मृत्यु भएपछि गाहा दम्पत्ती विक्षिप्त बनेको स्थानीयको भनाई छ । प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ ।