• असार २३ २०८३, मंगलवार

मध्यपूर्वमा भएको युद्दप्रति केपी ओलीले देखाए चासो

माघ २१ २०८०, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पश्चिम एसियाको पछिल्लो तनावग्रस्त राजनीतिक परिस्थितिप्रति चासो व्यक्त गरेका छन् ।

आज नेकपा एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको ‘पश्चिम एसियामा बदलिँदो शक्ति समीकरण र विश्व भूराजीतिमा त्यसको प्रभाव’ विषयक अन्तर्क्रियामा ओलीले यस्तो चासो व्यक्त गरेका हुन् ।

पछिल्लो समय पश्चिम एसियाको राजनीतिमा विभिन्न खाले उचार–चढाव भइरहेको अवस्थाप्रति संकेत गर्दै ओलीले अरु देशका बारेमा छलफल र विश्लेषण गर्दा नेपालले अपनाउनुपर्ने कुटनीति र रणनीतिका बारेमा पनि सन्तुलित हुनुपर्नेमा जोड दिए ।

‘मुख्य गरेर पश्चिम एसियाका विभिन्न देशमा रोजगारीका लागि १२ लाखभन्दा धेरै नेपाली पुगेका छन्,’ ओलीले भने, ‘त्यहाँ युद्ध भयो भने उनीहरूको रोजगारी मात्रै खोसिँदैन । सुरक्षाको कुरा पनि महत्वपूर्ण हुन्छ । यी विषयमा नेपाल सबैभन्दा चनाखो रहनुपर्छ र त्यसका लागि तयारी अवस्थामा बस्नुपर्छ ।’

उनले पश्चिम एसियाली क्षेत्रमा युद्ध सुरु भए त्यति धेरै नेपालीलाई तुरुन्त नेपाल फर्काउने स्रोत–साधनको समेत अभाव हुने भन्दै त्यसका लागि पनि सोच्नुपर्ने बताए । उनले त्यसका लागि सरकारले तयारी थाल्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले पश्चिम एसियाका विभिन्न देशमा रोजगारीका लागि गएका युवाहरूको रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र चलायमान भएको उल्लेख गर्दै त्यहाँको पछिल्लो अस्थिर अवस्थाले नकारात्मक प्रभाव पारेको अवस्थामा नेपालको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने उल्लेख गरे ।