काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको छ ।
सीजी ग्रुपका सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरिएकोबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले यस्तो जनाएको हो । सीआईबीका प्रवक्ता नवराज अधिकारीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको बताए ।
‘हामीले यस प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिनाभन्दा धेरै समय लगायौँ’, उनले भने, ‘यसको अनुसन्धान जारी रहन्छ । अनुसन्धान हुँदै जाँदा अरु व्यक्ति पनि तानिने सम्भावना छ ।’
उनले बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष थापा र सीजी ग्रुपअन्तर्गतको चाँदबाग स्कूलका सञ्चालक सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको बताउँदै अनुसन्धानका क्रममा यो हिनामिनामा जोडिएका अरु पनि तानिन सक्ने बताए ।
‘अहिले जग्गा दिने र लिने व्यक्ति दुवै अनुसन्धानमा छन् । थप व्यक्तिहरू पनि पक्राउ पर्न सक्छन्’, उनले भने, ‘तत्काललाई यसमा कुनै राजनीतिक तहमा निणर्य भएको देखिँदैन । नीतिगत रुपमा निणर्य भएको पनि देखिएन ।’ अधिकारीले तत्कालीन अध्यक्ष थापाले आफ्नै तजबिजीमा बाँसबारीको जग्गा सीजीको हातमा दिएको पनि बताए ।
‘तत्कालीन अध्यक्ष थापाले नै यो जग्गा निजी कम्पनीलाई दिएको देखिएको छ’, उनले भने, ‘महालेखा परीक्षकले जुन प्रतिवेदन दिएको छ । त्यसमा पनि यो जग्गाबारेको निणर्यलाई अपरादर्शी भनिएको छ ।’