सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका-३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए ।
उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो ।
ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१९प२५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट राजपुर-१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता ओमप्रकाश यादवले जानकारी दिए ।
उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा उनलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ । छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।