• जेष्ठ २० २०८१, आईतवार

विवाह पञ्चमी मनाइयो,८५ क्विन्टल अन्नको रामसीताको प्रतिमा निर्माण

पुष २ २०८०, सोमबार

काठमाडौँ ।  श्रीरामचन्द्र र सीताको पूजा आराधना सहित विवाह गरिदिएर विवाह पञ्चमी पर्व मनाइएको छ ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आइतबार देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाइएको हो ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आइतबार विधिपूर्वक गरिएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

यस वर्ष अन्नबाट संसारकै ठूलो रामसीताको प्रतिमा बनाइएको थियो । ८५ क्विन्टल अन्नको प्रयोग गरी ११ हजार ११ स्क्वायर फिटको रामसीताको प्रतिमा शुक्रबार साँझ तयार पारिएको हो । पाँच दिनदेखि प्रतिमा निर्माण कार्य स्थानीय रंगभूमि मैदान १२ बिघामा भइरहेको थियो । निर्देशक तथा कलाकार सतिशप्रसाद गुज्जरले ११ हजार ११ स्क्वायर फिटमा सीतारामको आकृति बनाउनका लागि पाँच दिन लागेको बताए ।

धान, गहुँ, मकै, बदाम, चाना, लहरको दाल, मसुरको दाल, चामल, उरिदको दालसहितका अन्न प्रयोग गरी रामसीता, राजा जनक र लक्ष्मणको आकर्षक प्रतिमा बनाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । भारतको मध्यप्रदेशको हरदा जिल्लाका कुकरावदनिवासी गुज्जरको नेतृत्वको टोलीले प्रतिमा निर्माण गरेको हो । अन्नबाट निर्माण भएको ११ हजार ११ स्क्वायर फिटको यो प्रतिमाले वल्र्ड रेकर्ड राख्ने उनले बताए । यो प्रतिमाको योजनाकार जनकपुरकी विद्यार्थी गुनगुन मिश्र हुन् । उनले अन्नबाट प्रतिमा बनाएर जनकपुरधामलाई विश्वमा चिनाउनुपर्छ भनेर मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्तलाई सुझाएकी थिइन् ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ ।

यस अवसरमा पशुपतिनाथस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीको श्रीरामचन्द्र मन्दिर, टेकुस्थित राम मन्दिरलगायत देशभरका राम मन्दिरमा पनि पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो ।