• मंसिर ११ २०८१, मंगलवार

के मदरसामा शिक्षक दरबन्दी चाहिन्छ ?

कार्तिक २२ २०८०, बुधबार

‘नमरी स्वर्ग देखिँदैन’ भनेझैं बिना शिक्षक दरबन्दी मदरसा चलाउन कति गाह्रो हुँदो हो ।’ भन्छन् दारुल उलूम गुलशने मदीना नूरी मश्जिदका प्राधानाध्यापक मौलाना नसीरुद्दीन अंसारी । उनी भन्छन् ‘यो मदरसा २०४८ सालमा स्थापना भइ २०६४ सालमा दर्ता भयो । तर अहिले सम्म एउटा शिक्षक दरबन्दी छैन् ।

वार्षिक अनुदानबाट दिवाखाजा र होस्टेल बस्ने विद्यार्थीहरुका लागि खाना बनाउने भान्छे १ जना, चर्पी सफा गर्न सरसफाईकर्मी १ जना, ३ जना शिक्षिका, २ जना मौलाना शिक्षक, १ जना इमाम र १ जना प्राधानाध्यापक गरी जना स्टाफलाई पाल्नु पर्दा निकै गाह्रो हुन्छ । अनुदान स्वरूप वार्षिक रुपमा २ लाख ४१ हजार रकम प्राप्त हुन्छ ।

जब कि स्टाफहरुको तलबमा मात्र मासिक ७५७०० र वार्षिक ९,०८,४०० खर्च हुन्छ । ४० जना बच्चा होस्टल बस्छन्, उनीहरुको खाना, बस्न, विद्युत, बच्चाहरुको उपचार खर्च, संचार खर्च, पाहुना सत्कार खर्च, स्टेशनरी, धारा र टंकी मर्मत खर्च सबै व्यवस्था गर्नुपर्छ । यसका साथै लेखा परिक्षण गराउँदा लाग्ने १० देखि १२ हजार सम्म त्यो पनि व्यवस्था गर्नुपर्छ । यस बाहेक कम्प्युटर र कम्प्युटर जानकार व्यक्ति नभएकोले वर्षमा तीनदेखि ५ कक्षा सम्मका सबै विषयका प्रश्नपत्र बाहिरबाट टाइपिङ र प्रिन्ट गराउनुपर्छ ।

त्यस बापत टाइपराइटर र प्रिन्टिङ प्रेसलाई भुक्तानी दिनुपर्छ । त्यो खर्च पनि आफै व्यवस्था गर्नुपर्छ । आनलाइन सिस्टममा डाटाहरु अपडेट गर्ने मान्छेलाई खर्च दिनुपर्छ । मदरसा चलाउँदा यो समस्या मलाई मात्र होइन म जस्तै मदरसा चलाउने सबै संचालक व्यक्तिहरुलाई यिनै समस्याहरुको सामना गर्नुपर्छ । विषयगत शिक्षक दरबन्दी र अनुदान दुबै भयो भने मदरसा संचालन गर्दा सहजता हुनेथियो । शिक्षकहरुले उचित पारिश्रमिक पाउने थिए भने उनले दिने सेवा अझ् गुणस्तरीय हुनेथियो ।’

मदरसामा पढाउने शिक्षिका नसरीन शेख भन्नुहुन्छ‘म १५ वर्ष देखि न्यूनतम तलबमा पढाइरहेकी छु । हाम्रो मिहेनत अनुसार पारिश्रमिक पाइँदैन । अधिकांश मदरसा पढाउने शिक्षकहरु ५ हजार देखि ७ हजार सम्म तलब पाउँछन् । यति थोरै तलबमा शिक्षक कतिको सन्तुष्ट हुन्छन् । कक्षा अनुसार शिक्षक दरबन्दी र वार्षिक अनुदान बढाएर दिएमा मदरसा शिक्षा अझ् राम्रो हुनेछ ।’

मदरसा दारुल उलूम गुलशने मदीनामा पढाउने शिक्षक हाफिज जाकिर हुसैन खान भन्नुहुन्छ,‘म मदरसामा ७ वर्षदेखि पढाइरहेको छु । यो मदरसा २०४८ सालदेखि संचालनमा छ । अहिले सम्म यहाँ एउटा शिक्षक दरबन्दी हुन सकेको छैन । यतिका पुराना मदरसाहरुमा समेत शिक्षक दरबन्दी हुन नसक्नु दुर्भाग्यपूर्ण छ । मदरसाका शिक्षकहरुले ज्यालादारी गर्ने मजदूरहरु भन्दा कम तलबमा भोलिका कर्णधारहरुको भविष्य कोर्न ठुलो बलिदान र योगदान दिइरहेका छन् ।’

फैजुन्नबी जामा मश्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजा भन्नुहुन्छ‘मदरसा शिक्षालाई सरकारले मदरसाका डिग्रीलाई मान्यता दिनुपर्छ । मदरसा शिक्षालाई मान्यता दिइ राज्य स्तरमा उच्चस्तरीय मदरसा शिक्षा संचालन गरियो भने बाहिरबाट पढ्न आउने हुँदा देशको आम्दानी बढ्छ । मदरसामा पढेका विद्यार्थीहरु अरबी भाषा विज्ञ भइ विदेशमा नेपालको ख्याति बढाउने छन् ।’

नेपालगञ्जका २३ वर्षीय मोहम्मद शोएब भन्छन्,‘नेपालगञ्ज जस्तो मुस्लिम बाहुल्य क्षेत्रमा मदरसा शिक्षाको पनि त्यति नै महत्व रहेकोछ । मुस्लिम समुदायका धेरै बालबालिकाहरु मदरसामा पढ्ने गरेकाछन् । यसलाई व्यवस्थित र सेवासुविधा युक्त बनाउन स्थानीय सरकारले पहल गर्नु आवश्यक रहेकोछ ।’

दारुल उलूम जुमा गरीब नवाज १६ का प्राधानाध्यापक कौसर अली राई भन्नुहुन्छ ‘मेरो मदरसा २०६६ सालमा दर्ता भएको छ । तर पनि अहिले सम्म एउटा शिक्षक दरबन्दी छैन । महिला शिक्षिका २ जना, शिक्षक (मौलाना) १ जना भान्छे १ जना र प्राधानाध्यापक गरी ५ जना स्टाफ छन् । मेरो मदरसामा हाल २१६ जना विद्यार्थीहरु रहेकाछन् । मदरसा व्यवस्थापन र संचालनका लागि वार्षिक अनुदान मात्र रहेको छ । जुन वार्षिक करिब साढे ७ लाख जति प्राप्त हुन्छ । त्यति रकमबाट मदरसा संचालन गर्न निकै कठिन भइरहेको हुन्छ ।

कहिले काहीँ मदरसाका अन्य खर्च व्यवस्था पनि गर्ने क्रममा रकम उता खर्च भएकोले शिक्षकहरुलाई समयमा तलब दिन सकिँदैन । एक त तलब दैनिक मजदूर भन्दा नि कम त्यसमा पनि समयमा दिन नसक्दा शिक्षकहरुलाई पढाउन नछोड्नुस् भनी हात जोडेर बिन्ती गर्ने अवस्था पनि आउँछ । यदि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक मदरसामा कक्षा अनुसार शिक्षक दरबन्दी, पिएन र कम्प्यूटरको साथै अरु पालिकाहरुले अनुदान रकम बढाए जस्तै बढाइ दिने हो भने मदरसा शिक्षा संचालन गर्न सहज हुनुका साथै गुणस्तरीय शिक्षा प्रदान गरी राम्रा जेहेनदार विद्यार्थी उत्पादन गर्न ठुलो सहयोग मिल्ने थियो । बाँके जिल्लाका जुन जुन पालिकाहरुले अनुदान रकम बढाएर दिन सुरु गरेकाछन् । जसको परिणामस्वरूप अहिले ती पालिकाका मदरसाहरु राम्ररी सहजतापूर्वक संचालन भइरहेकाछन् ।’

मदरसा आमनालिल बनातकी प्राधानाध्यापक जैनब खातुन भन्नुहुन्छ,‘मदरसा पनि शैक्षिक संस्थान हुन् । जहाँ बालबालिकाहरु शिक्षा हासिल गरी आफ्नो भविष्य उज्जवल बनाउँछन् । तर मदरसाहरुमा विषयगत शिक्षक दरबन्दी नरहेको विद्यार्थीहरु गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिरहेका छैनन् । यसकारण मदरसाहरुमा विषय अनुसार सोही विषयमा माहिर शिक्षक दरबन्दी अति आवश्यक रहेको छ । यसका साथै डाटा इन्ट्री र अपडेट गर्नका लागि सो विषयमा दक्ष प्राविधिक व्यक्ति र कम्तीमा एउटा ल्यापटपको व्यवस्था गरिन्छ भने मदरसाका डाटाहरु समयमा अपडेट हुनेछन् ।’

लोकेन्द्रबहादुर शाही भन्नुहुन्छ,‘मदरसा शिक्षालाई आधुनिक शिक्षासँग पनि जोडिनुपर्छ । मदरसामा पढेका बच्चाहरु अरु विद्यालयका बच्चाहरुसँग प्रतिस्पर्धा गर्दा अगाडि आउन सक्ने जित्न सक्ने बनाउन पहल हुनु आवश्यक छ । यसका लागि नेपालगञ्ज उपमहा नगरपालिकाले मदरसाहरुको आवश्यकता अनुसार आर्थिक र भौतिक रुपमा सहयोग गर्नुपर्छ । साथै मदरसा संचालकहरुले पनि इमानदारी पूर्वक मदरसा संचालन गर्नुपर्छ । मदरसालाई परिवारवादबाट मुक्त गरी नितान्त शैक्षिक संस्थानका रुपमा लिएर बालबालिकाहरुको शैक्षिक विकासका लागि तत्पर हुनुपर्छ । सबैले आ आफ्नो भुमिका सही ढंगले निभाउने हो भने मदरसा शिक्षालाई सबैको साझा पहल र सहकार्यले व्यवस्थित र गुणस्तरीय बनाउन सकिन्छ ।’

हाल नेपालगञ्ज उपमहानगरपालिकामा ४० वडा धार्मिक शैक्षिक संस्थाहरु संचालनमा छन् । जस मध्ये एउटा गुरुकुल र ३९ वटा मदरसाहरु रहेकाछन् । ३९ मदरसामा जम्मा २५ शिक्षक दरबन्दी मात्र रहेको छ । नेपालगञ्जमा संचालित ३९ मदरसाहरुमा करिब ७५०० जना विद्यार्थी पढ्दैछन् । तर आनलाइनमा ३६ मदरसाहरुले मात्र डाटा अपडेट गरेका छन् । जसमा जम्मा ६०९१ विद्यार्थी मध्ये छात्र २१९४ जना र
छात्रा ३८९७ जना रहेकाछन् ।

आइशा मदरसा तुल बनात बालिकाहरुको लागि संचालित मदरसा हो । यहाँ कक्षा १० सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या ६७६ छात्राहरु रहेकाछन् । यहाँ जम्मा ५ शिक्षक दरबन्दी रहेकोछ ।

ऐदारा मिस्बाहिया गुल्शने दानिशमा ४ शिक्षक दरबन्दी रहेको छ । यहाँ कक्षा ६ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १०४ जना मध्ये छात्रा ५३ जना र छात्र ५१ जना रहेकाछन् । दारुल उलूम बरकातियामा ३ शिक्षक दरबन्दी रहेको छ । यहाँ कक्षा १० सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ७०२ जना मध्ये छात्रा ३७९ र छात्र ३२३ जना रहेकाछन् । जामिया ईस्लामिया रजाए मुस्तफामा २ शिक्षक दरबन्दी रहेको छ । यहाँ कक्षा ४ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १६१ जना मध्ये छात्रा ९२ जना छात्र ६९ जना रहेकाछन् । जामिया मोईनिया बदरुल उलूममा २ शिक्षक दरबन्दी रहेको छ । यहाँ कक्षा ३ सम्म पढाइ हुन्छ । जम्मा विद्यार्थी संख्या ११३ जसमध्ये छात्रा ८० र छात्र ३३ जना रहेकाछन् । यी मदरसामा मात्र एउटा शिक्षक दरबन्दी छ ।

१. मदरसा दारुल उलूम गरीब नवाजमा कक्षा १ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा २११ जना जसमध्ये छात्रा १२४ जना र छात्र ८७ जना रहेकाछन् ।
२. मदरसा गुल्शने गाजीमा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ११३ जना जसमध्ये छात्रा ६० जना र छात्र ५३ जना रहेकाछन् ।
३. मदरसा मकसूदिया आले मुस्तफामा कक्षा ४ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १८० जना जसमध्ये छात्रा ११० जना र छात्र ७० जना रहेकाछन् ।
४. मदरसा गाजीया अनवारुल उलूममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ४२ जसमध्ये छात्रा २१ र छात्र २१ रहेकाछन् ।
५. मदरसा अरबिया जामियाउल हसनातमा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १७५ जना मध्ये छात्रा ११७ जना र छात्र ५८ जना रहेकाछन् ।
६. दारुल उलूम मोईनिया फैजाने गाजीमा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १२३ जना मध्ये छात्रा ६९ जना र छात्र ५४ जना रहेकाछन् ।
७. अल्जामियातुल ईस्लामिया रजाउल उलूममा कक्षा ४ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १७० जना मध्ये छात्रा ९० जना र छात्र ८० जना रहेकाछन् ।
८. जामिया कादरिया जियाउल कुरानमा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १३८ जना जसमध्ये छात्रा ८९ जना र छात्र ४९ जना रहेकाछन् ।
९. मदरसा दारुल उलूम फैजुल रसूलमा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १३५ जना मध्ये छात्रा ५५ जना र छात्र ८० जना रहेका छन् ।

शिक्षक दरबन्दी नरहेका मदरसाहरुका बारेमा संक्षिप्त जानकारी :
१. मदरसा जामिया आरफिया दानिसुल उलूममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा २०२ जना जसमध्ये छात्रा १०९ जना र छात्र ९३ जना रहेकाछन् । २. मदरसा नुरानीया इस्लामियामा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा २४४ जना मध्ये छात्रा १३८ जना र छात्र १०६ जना रहेकाछन् । ३. मदरसा जामिया चिश्तीया रहमतुल उलूममा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १३८ जना मध्ये छात्रा ७१ जना र छात्र ६७ जना रहेकाछन् । ४. मदरसा हुसैनी गाजिउल उलूममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ११८ जना मध्ये छात्रा ५० जना र छात्र ६८ जना रहेकाछन् । ५. मदरसा अल्फा एकेडमीमा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ७९ जनामध्ये छात्रा २४ जना र छात्र ५५ जना रहेकाछन् । ६. मदरसा यतिमखाना कादरिया अकबरुल उलूममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १०३ जना मध्ये छात्रा ७३ जना र छात्र ३० जना रहेका छन् । ७. मदरसा मिस्बाहिया चिश्तीयामा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १८५ जनामध्ये छात्रा ११२ जना र छात्र ७३ जना रहेकाछन् । ८. मदरसा कादरिया गुलशने रजामा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १७६ जना मध्ये छात्रा ११२ जना र छात्र ६४ जना रहेकाछन् ।

९. दारुल उलूम जुमा गरीब नवाजमा कक्षा १ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा २३९ जना मध्ये छात्रा १३१ जना र छात्र १०८ जना रहेकाछन् । १०. मदरसा दारुल उलूम आरफियामा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ८७ जना मध्ये छात्रा ३५ जना र छात्र ५२ जना रहेकाछन् । ११. मदरसा दारुल उलूम गौसे आजममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ७५ जना जसमध्ये ३३ छात्रा र छात्र ४२ जना रहेकाछन् । १२. यतीमखाना दारुल उलूम फैजाने मुफ्तीए आजममा कक्षा ३ सम्म पढाइ हुन्छ । १३. मदरसा जामिया हबिबिया दारुल रजामा कक्षा ५ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ११६ जना जसमध्ये छात्रा ६३ जना र छात्र ५३ जना रहेकाछन् ।

१४. जामिया अरबिया मिफताउल उलूममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा २४४ जना मध्ये छात्रा ११७ जना र छात्र १२७ जना रहेकाछन् । १५. मदरसा चिश्तीया गरीब नवाजमा कक्षा १ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १७६ जना जसमध्ये छात्रा १०४ जना र छात्र ७२ जना रहेकाछन् । १६. मदरसा अहयाउल उलूममा कक्षा २ सम्म पढाइ हुन्छ । १७. दारुल उलूम गुलशने रजामा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १७६ जसमध्ये छात्रा ११२ र छात्र ६४ जना रहेकाछन् । १८. मदरसा गुल्शने वारसिया तालिमुल कुरानमा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १२५ जना मध्ये छात्रा ६८ जना र छात्र ५७ जना रहेकाछन् ।

१९. दारुल उलूम गुलशने मदीना नूरी मश्जिदमा कक्षा ५ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १७३ जना मध्ये छात्रा ९२ जना र छात्र ८१ जना रहेकाछन् । २०. दारुल उलूम गुल्शने मदारिया जियाउल हबिबमा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १५५ जना मध्ये छात्रा ७४ जना र छात्र ८१ जना रहेकाछन् । २१. दारुल उलूम अताय मुस्तफामा कक्षा ३ सम्म पढाइ हुन्छ ।

विद्यार्थी संख्या जम्मा १०७ जसमध्ये छात्रा ६४ र छात्र ४३ जना रहेकाछन् । २२. दारुल उलूम वदिउदिनिया गुलशने इब्राहिममा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ८३ जना मध्ये छात्रा ५५ जना र छात्र २८ जना रहेकाछन् । २३. मदरसा अहेमदिया दारुल इस्लाममा कक्षा २ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा ८७ जसमध्ये छात्रा ५९ छात्र २८ जना रहेकाछन् । २४. मदरसा इस्लामिया फैजुल उलूममा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा १०१ जना जसमध्ये छात्रा ६८ जना र छात्र ३३ जना रहेकाछन् । २५. मदरसा आमना लिल बनातमा कक्षा ३ सम्म पढाइ हुन्छ । विद्यार्थी संख्या जम्मा २१२ जना छात्रा रहेकाछन् ।

केही मदरसाहरुले अहिले सम्म डाटा अपडेट गरेका छैनन् । मदरसा शिक्षाको गुणस्तरीयता र अवस्था कस्तो छ भनी हेर्ने हो भने अधिकांश मदरसाहरुमा कक्षामा आवश्यकता अनुसार शिक्षक र कक्षा कोठा नभएकोले सबैलाई मिलाएर बसाल्नु पर्ने बाध्यता रहेको छ । जसको फलस्वरूप बच्चाहरु पूर्णरुपले पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेका हुँदैनन् । विषयगत दक्षता भएका शिक्षकहरुको दरबन्दी नरहेकोले बच्चाहरुलाई पढाउनका लागि कम तलबमा शिक्षक राख्नुपर्छ । विषय विज्ञ नहुदाँ विषयगत दक्षतामा अन्य विद्यालय भन्दा कमी रहेको पाइन्छ ।
मदरसा शिक्षा व्यवस्थित गर्न गरिनु पर्ने आवश्यक पहल :
मदरसामा पढ्ने छात्रछात्राहरुको डाटा हेर्ने हो भने छात्रहरु भन्दा छात्राहरुको संख्या बढी रहेको देखिन्छ । यसर्थ बालिकाहरु संख्या बढी रहेका मदरसाहरुमा दरबन्दी गर्दा शिक्षिकाहरुलाई गर्नुपर्छ साथै अनुदान रकम पनि बढाउन जरूरी छ । बालिकाहरुको छुट्टै समस्या हुन्छन् जुन लाजले शिक्षकसँग भन्न सक्दैनन् । उनीहरुको लागि सेनेटरी प्याडको व्यवस्था हुनुपर्छ । यसका साथै छात्राहरुका लागि छुट्टै चर्पी हुनुपर्छ । यी यावत कुरा तब मात्र सही ढंगले सम्बोधन हुन सक्छन् जब मदरसामा शिक्षिकाहरुको दरबन्दी गरिनेछ ।

यसका साथै मदरसालाई परिवारवादबाट मुक्त बनाउन आवश्यक रहेको देखिन्छ । अधिकांश मदरसामा संस्थापककै परिवारका सदस्यहरुले नै नेतृत्व गरेको पाइन्छ । सरकारद्वारा प्रदान गरिने सेवासुविधा आफ्नै घरमा आओस् भनी सक्ने नसक्ने व्यक्तिलाई प्राधानाध्यापक बनाएर मदरसा हाँकिन्छ । जसले गर्दा मदरसामा असक्षम व्यक्ति पनि पर्नसक्छ । असक्षम व्यक्ति पर्दा शिक्षा दिएर भविष्य कोर्ने स्थानमा गुणस्तरीय शिक्षा नहुन पनि सक्छ ।

सो चलनचल्तीमा रहेको यो कुरा सुधार गरी सक्षम व्यक्तिलाई अवसर दिन र दिलाउन सरोकारवालाहरुमार्फत् पहल हुन अति आवश्यक छ । अहिले पनि अधिकांश मदरसाहरुमा दिवाखाजा भनेर जंकफूड र प्याकेटको रेडिमेड खानेकुरा खुवाइन्छ । जुन बच्चाहरुको स्वास्थ्यका लागि एकदमै हानिकारक छ । यस कारण ताजा खानेकुरा पकाएर खुवाउनु पर्छ । अधिकांश मदरसामा सरसफाई गर्ने व्यक्ति नहुदाँ बच्चाहरुले नै मदरसाको सरसफाई गर्नुपर्छ । जसले गर्दा उनीहरुको पढ्ने समय त्यसैमा गइरहेको हुन्छ ।

साथै स्थायी रुपमा डाटा अपडेट गर्ने व्यक्ति नभएकोले डाटा अपडेट गर्न ढिलो हुन्छ यदि समयमा भयो भने पनि बाहिरको व्यक्तिले अपडेट गर्ने हुदाँ त्रुटिहरु हुनसक्छन् । यस कारण स्थानीय सरकारले भान्छे, सफाईकर्मी र कम्प्युटरको दक्षता राख्ने व्यक्तिलाई स्थायी कर्मचारीको रुपमा नियुक्त गरिनु पर्ने आवश्यक रहेको छ । मदरसा शिक्षामा सुधार भयो भने आधुनिक र गुणस्तरीय शिक्षा हासिल गरी दक्ष नागरिक बन्नेछन् ।