• मंसिर ११ २०८१, मंगलवार

मुस्लिम समुदायमा खाेपले निसन्तान गराउँछ भन्ने भ्रम हट्दै

आश्विन २६ २०८०, शुक्रबार

कुनै कालखण्डमा फैलाइएको भ्रम सदा यथावत रहँदैन । एक समय आउँछ जब समाजले त्यो भ्रम हो भनी बुझ्दछ । अनि आफ्नो विवेकको प्रयोग गर्छ । मुस्लिम समुदायले पनि खोपको बारे फैलाइएको भ्रम बारे बुझ्दै गइसकेपछि अवस्था फरक छ । अहिले मुस्लिम बालबालिकाहरुले पनि नियमित खोप लगाउन थालेकाछन् । केही वर्ष अघिसम्म खोपको बारेमा मुस्लिम समुदायभित्र निसन्तान हुने गलत सूचना सम्प्रेषण गरिएको हुनाले खोपप्रति त्यति चासो राख्दैन थियो ।

त्यो गलत सूचना जसलाई अफवाह भन्दा पनि हुन्छ । यसका बारेमा पुष्टि गर्दै नेपालगञ्ज उपमनपा वडा नं. ३ महिला सदस्य(जनप्रतिनिधि) कमरुननिसा अन्सारी भन्नुहुन्छ ‘यस्तो अफवाह फलाइयो कि बालबालिकाहरुलाई लगाइने खोपले उमेर पुगेपछि सन्तान उत्पादनमा ह्रास ल्याउँछ र सन्तान उत्पादनमा ह्रास हुन्छ भन्ने डरका कारणले मुस्लिम समुदायले खोपलाई नकारात्मक रुपमा लिइहाल्यो ।’ तर हालको अवस्था बारे जानकारी गराउँदै उनी भन्न्,ि‘अहिले मुस्लिम समुदाय पनि शिक्षित भइरहेको छ । शिक्षाकै कारण मुस्लिमहरु सचेत भइसकेकाछन् । उनीहरुमा चेतना बढेको छ, फलस्वरूप अहिले बालबालिकाहरुलाई लगाइने नियमित खोप लगाउन सुरु गरेकाछन् ।’

अन्य समुदाय जस्तै मुस्लिम समुदायमा पनि पहिला चेतनाको कमि थियो र सरकारले पनि खास पहल गरेको थिएन । जसले गर्दा धेरैजसोले खोपलाई त्यति महत्व दिएका थिएनन् । जसबारे नेपालगञ्जकी ३८ वर्षीया तरन्नुम बानो भन्छिन्,‘मेरो सासुससुराले पनि आफ्नो बच्चाहरुलाई खोप लगाउनु भएन् । अहिले हामी आफ्ना बच्चाहरुलाई सबै खोप लगाउँछौं । यसमा सरकारको खोप अभियानले पनि निकै प्रभाव परेकोछ । जबदेखि राष्ट्रिय खोप अभियान सुरु भयो, तबदेखि घरदैलो गरी छुटेका बच्चाहरुलाई पनि समेट्न थालिएको छ । अहिले सबै बच्चाहरुले खोप लगाएकै हुन्छन् ।’ स्वास्थ्यकर्मी र समुदायका अगुवाहरुको साझा भनाइ रहेकोछ कि “खोप लगाउन तिनै बच्चा मात्र छुट्छन् जुन बच्चाहरु खोप लगाउने समयमा यहाँ हुँदैनन् अर्थात् आमासँग उनको माइत भारत गएका हुन्छन् ।

बालबालिकाहरुलाई लगाइने खोप र पहलका बारेमा जानकारी गराउँदै मुस्लिम समुदायको बाहुल्य वडा नं. ३ को स्वास्थ्य कार्यालयकी ए.एन. एम. मनिषा कनौजिया भन्छिन् ‘बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि सरकारले चलाएको अभियान अन्तर्गत बच्चा जन्मिने देखि १५ महिनासम्म निरन्तर रुपमा समय तालिका अनुसार ओ.पी.भी., पी.सी.भी., डी.पी.टी, रोटा, पोलियो, हेप बी हिब, एफ.आइ.पी.भी., डी.पी.टी., हेप बी हिब, दादुरा रुबेला, जापानिज इन्सेफेलाइटिस र टाइफाईड खोप लगाइन्छ । यसका साथै गर्भ बसेको थाहा पाउने बित्तिकै गर्भवती महिलालाई की.डी खोप लगाइन्छ । वडा नं. ३ मुस्लिम बाहुल्य रहेको वडामध्ये एक हो । पहिलेको तुलनामा अहिले यो वडामा पनि बालबालिका र गर्भवती महिलाहरुलाई नियमित खोप लगाउन थालेका छन् । जसरी सबै कुरामा शतप्रतिसत चाहे अनुसार नतिजा आउँदैन । त्यसरी नै बालबालिकाहरुलाई लगाइने डी.पी.टी खोप एक पटक लगाएपछि मुस्लिम मात्र होइन अन्य समुदायकाले पनि बच्चालाई ज्वरो आउने, रुने गर्नाले अरु खोप लगाए पनि डी.पी.टी. खोपको अर्को डोज लगाउन मान्दैनन् ।’

खोपको बारेमा वडा नं. ४ स्थित मदिना नुरी मस्जिदका मौलाना नसिरुद्दीन अन्सारी भन्नुहुन्छ ‘बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि राज्यले दिने निःशुल्क सेवा जनताका लागि उपहार स्वरूप रहेकोछ । यसबाट सबैले लाभ लिनुपर्छ ।’ मुस्लिम समुदायका केही व्यक्तिहरुलाई शरीयतको बारेमा पूणर् जानकारी नरहेकोले उनीहरु भन्छन् कि ‘हाम्रो इस्लाममा खोप लगाउन मनाही छ । यसकारण हामीले आफ्नो बच्चालाई खोप लगाउँदैनौं ।’ यो अफवाहको बारेमा प्रष्ट पार्दै वडा नं. ३ स्थित फैजुन्नबी जामा मस्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजा भन्नुहुन्छ, ‘बच्चाहरुलाई विभिन्न दीर्घकालीन र सामान्य रोगबाट बचाउनका लागि सरकारले दिने खोप लाभदायक छ ।

यसले बच्चाहरुलाई पोलियो, क्षयरोग, जेपनिज इन्सेफेलाइटिस आदि रोगबाट बचाउन मद्दत गर्छ । साथै शरीयत अनुसार यो अवैधानिक छैन । यसले शरीर, स्वास्थ्य, शरीयत र इमानलाई कुनै नकारात्मक असर पार्दैन । निसन्तान हुने डर पनि नरहेकोले डाक्टर हरुले पनि भन्छन् कि यसलाई लगाउँदा स्वास्थ्यका लागि फाइदा नै हुन्छ खोपले कुनै हानी गर्दैन । सो मुस्लिम समुदायका जुन परिवारले शरीयतका कारण खोप लगाउँदैनन् उनीहरुसँग अपील छ, सरकारको खोप अभियान सफल बनाउनका लागि आआफ्नो स्तरबाट पहल र योगदान गर्नुहोस् ।’

पन्ध्र वर्षदेखि नेपालगञ्जमा सेवा दिँदै आइरहेका बालरोग विशेषज्ञ डाक्टर सकिल अहमद भन्नुहुन्छ ‘म नेपालगञ्ज आउँदा पन्ध्र वर्ष अगाडिको अवस्था फरक थियो । इमेरजेन्सी र बाल विभागमा पोलियो, क्षयरोग, पक्षघात, इन्सेफेलाइटिस, हेपाटाइटिस दादुरा, धनुष्टंकार र लहरेखोकी जस्ता रोगबाट ग्रसित बालबालिकाहरुले वार्ड नै भरिएको हुन्थ्यो । अस्पताल र स्टाफहरुलाई बिरामी थेग्नै हम्मेहम्मे हुन्थ्यो । अहिले अवस्था फरक भइसकेको छ । खोपले जोगाउन मद्दत गर्ने पोलियो, पक्षघात, क्षयरोग, इन्सेफेलाइटिस, हेपाटाइटिस दादुरा, धनुष्टंकार र लहरेखोकी जस्ता रोगका बिरामीको संख्या घटेको छ ।

सरकारले निःशुल्क रुपमा चलाएको खोप अभियानले बच्चाहरुमा लाग्ने १५ वटा रोगहरुबाट बचाउँछ । यो खोपहरुले स्वास्थ्यलाई कुनै खाले नकारात्मक असर गर्दैन् । सबैले सरकारको यस अभियानलाई सफल बनाउन सहकार्य गर्नुपर्छ ।’ डाक्टर सकिल अगाडि थप्दै भनेका ‘पूणर् खोप अभियान लागु भए पनि पूणर्मा अर्थात् १०० प्रतिशत सफल हुन सकेको छैन यसको मुख्य कारण मैले भन्नुपर्दा समुदायलाई प्रयाप्त काउन्सिलिङ हुन वा गर्न नसकेकोले हो । यदि राम्ररी बुझाइयो प्रयाप्त काउन्सिलिङ गरियो भने यो अभियान शतप्रतिसत नै सफल हुनेछ ।’

खोप अभियानका बारेमा जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत नरेश श्रेष्ठ भन्नुहुन्छ ‘सरकारले पूणर् खोप अभियान लागु गरे पश्चात हरेक समुदायले बच्चाहरुलाई नियमित खोप लगाउन थालेका छन् । पहिला हाम्रा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरु जादाँ एकदमै आनाकानी गर्नेहरु अहिले यिनका कुरा सुन्न र बुझ्न थालेकाछन् । उहिले ढोकै नखोल्ने परिवार अहिले कम्तीमा ढोका खोलेर बसालेर ल भन्नुस् के भन्नुछ भन्न थालेकाछन् । यो पनि यही पूणर् खोप अभियानकै उपलब्धि हो । पूणर्रुपमा खोप अभियान सफल नभए पनि यो आर्थिक वर्षमा निकै राम्रो परिणाम ल्याएको कुरा यस वर्षको डाटाले पनि देखाउँछ । यसलाई सफल बनाउन मिडिया, राजनीतिकर्मी, धर्मगुरु र सामाजिक अभियन्ताहरुले समेत सहकार्य गर्नु आवश्यक रहेको भनी हाम्रो टीमले महसुस गरेकोछ ।’

नेपालगञ्ज खोप सुपरभाइजर विनोदकुमार विक भन्नुहुन्छ ‘तुल्नात्मक रुपमा डाटा हेर्ने हो भने विगत भन्दा यो वर्ष राम्रो प्रगति भएको छ । आ.व. २०७७/२०७८ मा बी.सी.जी. खोप १२१.६ प्रतिशत रहेको, आ.व. २०७८/२०७९ मा बीसीजी खोप १६१.८ प्रतिशत रहेको र आ.व. २०७९/२०८० मा १७०.६ पुगिसकेको छ । खोप लगाउनेहरु १०० प्रतिशत भन्दा बढी हुनुको कारण यो छ कि नेपालगञ्ज सेन्टर पर्छ यहाँ बाहिर जिल्लाका व्यक्तिहरु पनि आउने बसोबास गर्ने हुदाँ खोपको प्रतिशत बढेको देखिन्छ । तथापि यहाँका स्थानीय समुदायलाई सजग गराइ पूणर् खोप अभियान सफल बनाउन जनप्रतिनिधिहरुले पनि उत्कृष्ट भुमिका निर्वाह गर्न सक्छन् ।

नेपालगञ्ज उपमहा नगरपालिका-२३ वडा मिलेर बनेको छ । अनि जनप्रतिनिधिहरु आफ्नो वडाका हरेक परिवारलाई नजिकबाट चिने जानेका हुन्छन् । उनीहरु स्वाभावका बारेमा पनि जानकार हुन्छन् । तसर्थ स्वाभाव अनुसार कुन परिवारलाई कसले बुझाउन जाँदा उसको कुरा सुनेर सहमत हुन्छन् भनी थाहा हुन्छ । जनप्रतिनिधिहरुले सोही अनुसार हाम्रो टीमलाई जानकारी गराएमा हामी त्यही टीम लिएर बुझाउन जादाँ सकारात्मक असर पर्छ । यसका साथै यो बच्चाहरुको लागि महत्वपूणर् रहेकोले विभिन्न मिडिया ( टेलिभिजन, रेडियो एफ.एम, पत्रपत्रिका र आनलाइन), सामाजिक संघ संस्था, सामाजिक अभियन्ता, राजनीतिकर्मी, स्वयंसेवीका, सवास्थ्यकर्मी सामाजिक अगुवा र विभिन्न धर्मका धर्मगुरुहरुले पनि सहकार्य गर्नु अति आवश्यक रहेको छ । अनि मात्र हामी बालबालिकाहरुमा लाग्ने विभिन्न १५ वटा रोगबाट लड्न र जित्न सक्छौं ।’

नेपाल सरकारले लागु गरेको पूणर् खोप अभियान अन्तर्गत बच्चा जन्मिने बित्तिकै देखि ४५ दिन भित्र बी.सी.जी.खोप लगाइन्छ । ६ सप्ताहमा रोटा, पोलियो, ओ.पी.भी., पी.सी.भी र डी.पी.टी लगाइन्छ । १० सप्ताह रोटा, पोलियो, ओ.पी.भी., पी.सी.भी र डी.पी.टी., हेप बी हिब लगाइन्छ । १४ सप्ताह पोलियो, एफ.आइ.पी.भी., डी.पी.टी., हेप बी हिब लगाईन्छ । नौं महिनामा एफ.आइ. पी.भी., पी.सी.भी. र दादुरा रुबेला लगाइन्छ । १२ महिनामा जापानिज इन्सेफेलाइटिस लगाईन्छ । १५ महिनामा दादुरा रुबेला र टाइफाईड लगाइन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको डाटा अनुसार तीन वर्षभित्र लगाइएका खोपहरुको नाम र लगाएका बालबालिकाहरुको संख्या प्रतिशतको हिसाबले यस प्रकार रहेको छ । बी.सी.जी. आ.व. २०७७/७८ मा १२१.६ रहेको थियो । आ.व.२०७८/७९ मा १६१.८ रहेको थियो । आ.व. २०७९/८० असार सम्म बढेर १७०.६ प्रतिशत पुगेको छ । डी.पी.टी. हेप बी हिब१ आ.व. २०७७/७८ मा ९३.९ रहेको थियो । आ.व.२०७८/७९ मा ११५.४ रहेको थियो । आ.व. २०७९/८० असार सम्म बढेर १२४.२ प्रतिशत पुगेको छ । डी.पी.टी. हेप बी हिब३ आ.व. २०७७/७८ मा ८६.९ रहेको थियो । आ.व.२०७८/७९ मा १०९ रहेको थियो । आ.व. २०७९/८० असार सम्म बढेर ११४.४ पुगेको छ ।

रोटा२ आ.व. २०७७/७८ मा ६६.२ रहेको थियो । आ.व.२०७८/७९ मा १०३ रहेको थियो । आ.व. २०७९/८० असार सम्म बढेर १२०.५ प्रतिशत पुगेको छ । जापानिज इन्सेफेलाइटिस आ.व. २०७७/७८ मा ८८.७ रहेको थियो । आ.व.२०७८/७९ मा ९९.४ रहेको थियो । आ.व. २०७९/८० असार सम्म बढेर ११०.६ पुगेको छ । दादुरा रुबेला१ आ.व. २०७७/७८ मा ७९.६ रहेको थियो । आ.व.२०७८/७९ मा १०१.८ रहेको थियो । आ.व. २०७९/८० असार सम्म बढेर ११०.६ पुगेको छ । दादुरा रुबेला२ आ.व. २०७७/७८ मा ८४.८ रहेको थियो । आ.व.२०७८/७९ मा ९१.३ रहेको थियो । आ.व. २०७९/८० असार सम्म बढेर १०८.८ पुगेको छ । वर्षेनी लाखौं रुपैयाँ खर्च गरी सरकारले निःशुल्कमा दिने खोपहरुबाट लाभान्वित भइ आफ्ना बच्चाहरुलाई लाग्ने रोगहरुबाट बचाउन समुदायले पनि सहकार्य गर्नुपर्छ ।