• जेष्ठ २८ २०८२, मंगलवार

हामीलाई बहुमत दिनुस्, पहिचानको आधारमा प्रदेशको नामाकरण गर्छौं : प्रम दाहाल

श्रावण २४ २०८०, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आए सदनबाटै पहिचानका आधारमा प्रदेशको नामाकरण हुने बताएका छन् ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले यसअघि आफूहरूले पहिचानका आधारमा प्रदेश कायम गर्ने प्रयास गर्दा बहुमत नभएकाले असफल भएको भन्दै आगामी निर्वाचनमा पहिचानका पक्षधरलाई बहुमत आएमा सदनबाटै पहिचानका आधारमा प्रदेशको नामाकरण हुने बताए ।

उनले अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएको र त्यही चेतनाको बलमा पहिचानसहितको प्रदेशको नामाकरण गर्न सकिने बताए । १ नम्बर प्रदेशलाई कोशी प्रदेश नामकरण गर्नुअगाडि आफूले किरात प्रदेश राख्न उचित हुने धारणा राखेको उनको भनाइ छ ।

दाहालले कोशी प्रदेश नामाकरण भइसकेपछि भएको आन्दोलनमा आफूले पनि चासो राखेको र पहिचान र अधिकारको आन्दोलनको नेता हुनुको नाताले आन्दोलनको क्रममा साहदात प्राप्त गर्नेलाई सहिदको घोषणा र क्षतिपूर्तिको पनि निणर्य गरेको तर्क गरे ।

त्यस्तै प्रधानमन्त्री दाहालले भगवती पाण्डेको अभिव्यक्तिका कारण पैदा भएको संवेदनशीलताप्रति सरकार गम्भीर रहेको भन्दै गृह र सम्बन्धित प्रहरी अधिकृतलाई रोखर छलफल गरेपछि दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको बताए । नेपाल बहुभाषिक, बहुजातीय देश भएकाले कुनै पनि जाती भाषा संस्कृतिलाई अपमानित गर्ने भाषा प्रयोग गर्नु सहनसक्ने कुरा नभएको उनले बताए ।

उनले संविधानले व्यवस्था गरेको आदिवासी जनजातिको अधिकारलाई कार्यान्वयन गर्दै लैजाने स्वायत्त, संरक्षित र विशेष क्षेत्रलाई कानुन बनाएर छिट्टै लागू गराउने, संघीयताको दृढ कार्यान्वयनका साथै थप अधिकारका निम्ति प्रयत्नशील रहने कार्यभार रहेको पनि बताए ।