काठमाडौं । पर्सामा किशोरीलाई टेलिफोनमार्फत् जिस्क्याएको विषयलाई लिएर कुटाकुट हुँदा एक युवकको मृत्यु भएको छ ।
१६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत् जिस्क्याएको विषयलाई लिएर कुटाकुट हुँदा पर्सागढी नगरपालिका–४, वारवाटाडीका २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो ।
कुटपिटको अभियोगमा प्रहरीले पर्सागढी नगरपालिका–४ का २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई पक्राउ गरेको छ । वकिल महमद अन्सारी र अली महमद अन्सारीबीच शनिबार राति विवाद भएको थियो । विवाद बढ्दै गएपछि अबतुल्लाहले जमुदिनलाई चिर्पटले प्रहार गरेका थिए ।
चिर्पटको प्रहारबाट गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।