• जेष्ठ २८ २०८२, मंगलवार

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

श्रावण २४ २०८०, बुधबार

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ ।

त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद(सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

उता, बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको राष्ट्रियसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नेछिन् ।