• जेष्ठ २८ २०८२, मंगलवार

देउवाले नेवि संघको समिति विस्तार गरेसँगै देखियो चरम विवाद

श्रावण २३ २०८०, मंगलवार

काठमाडौं । कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद देखिएको छ । सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी १० बजे ७ सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति विस्तार गरेका थिए । सभापति देउवाले वि.सं.२०७८ चैत ९ गते नेविसंघ तदर्थ समिति अध्यक्षमा दुजाङ शेर्पालाई तोकेका थिए ।

अध्यक्ष तोकेको १६ महिनापछि नेविसंघ केन्द्रीय समितिमा ७ सय १० जनालाई मनोनीत गरिए पनि विवाद देखिएको छ । विधानविपरीत जम्बो केन्द्रीय समिति बनाएको भन्दै सभापति देउवाको आलोचना भइरहेको छ । साथै नेविसंघमा मनोनीत भएका कतिपय विदेशमा छन्।केन्द्रीय समितिमा मनोनीत गरिएका सुजन बन्जारा, रितेश चिमोरिया, अमृत वस्ती, रवीन ढुंगाना, किरण भण्डारीलगायत विदेशमा छन् ।

यीमध्ये रवीन ढुंगानाले फेसबुकमा लेख्दै आफूले समायोजनका सिलसिलामा २ वर्षअघि नै नाम दिए पनि अहिले समावेश गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘म देश बाहिर रहेको हुँदा नेविसंघ केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने जानकारी अध्यक्ष दुजाङ शेर्पालाई दिइसकेको छु,’ उनले भनेका छन्, ‘मैले समायोजनका सिलसिलामा २ वर्षअघि नाम दिएको थिएँ । अहिले म अध्ययनका लागि देश बाहिर छु ।’

विवेक तामाङले पनि आफू नेविसंघमा रहेर काम नगर्ने घोषणा गरेका छन् । आफूसँग सल्लाह नगरी नाम राखेको उनले उल्लेख गरेका छन् । नेविसंघमा पदाधिकारीबिनै ५ सय २० सदस्यीय केन्द्रीय समिति बनाउने नेताहरूबीच सहमति भएको थियो । त्यसका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले २ सय २० जनाको नाम सभापति देउवालाई बुझाएका थिए तर सभापति देउवाले सोमबार बेलुकी सात सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति ल्याएपछि असन्तुष्टि बढेको हो ।

नेताहरूले नाम बुझाएका कतिपयको नाम सभापति देउवा पक्षले हटाएकोमा पनि नेविसंघभित्र आक्रोश छ । नेविसंघ नेता विनोद शाही ठकुरीले अन्यायमा पारिएका विद्यार्थी नेताहरूको न्यायका लागि नेविसंघ केन्द्रीय समिति गठन गर्ने तयारी गरिएको बताए ।