काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका विषयमा उजुरी आह्वान गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसमाथिको सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले १० दिन समय दिएर उजुरी आह्वान गरेको छ ।
‘प्रस्तावित प्रधानन्यायाधीशको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्ति प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रष्ट आधार खोली मर्यादित भाषामा समिति समक्ष सूचना वा उजुरी दिन सरकारी सरकारी सञ्चार माध्यामहरुमार्फत् सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु, समितिका जेष्ठ सदस्य पशुपति शमसेर जबराले भने ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण गत साउन २० गते अनिवार्य अबकासमा गएपछि प्रधानन्यायाधीशमा नयाँ नियुक्ति प्रक्रिया अघि बढेको हो ।
श्रेष्ठ न्याय सेवाको तल्लो तह, शाखा अधिकृत जिल्ला न्यायाधीश, उच्च र सर्वोच्च अदालतको न्यायाधीश हुदै करिअरबाट सर्वोच्चको सर्वोच्च पदसम्म पुग्न लागेका न्यायाधीश हुन् । उनले साउन २० गतेबाट न्यायालयको नेतृत्व सम्हालिरहेका छन् । संवैधानिक परिषदबाट सिफारिस भइ संसदीय सुनुवाईबाट अनुमोदन भएमा उनी प्रधानन्यायाधीश हुने छन् ।