• मंसिर ७ २०८१, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान पढेका कर्णालीका युवाहरु लागे कृषिकर्ममा

श्रावण २३ २०८०, मंगलवार

वीरेन्द्रनगर । भेरीगंगा–११, रामघाट सुर्खेतमा कृषि विषयको स्नातक तह दोश्रो सेमेस्टरमा अध्यनरत ११ जना विद्यार्थीको समूहले  Bio green eco club  नामको समूह बनाएर जग्गा भाडामा लिइ तिहार लक्षित कर्मा ५५५ जातको सयपत्री खेती गरेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट अध्ययनको लागि रामघाटमा आई सामूहिक ११ जनाको समूह जसमा सदस्यहरु अम्बिका बम, अंगत न्यौपाने, भावना खत्री, विनोद शर्मा, उत्तम अधिकारी, कर्णखर भट्टराई, यमुना शाही, लोकेन्द्रमान खड्का, पूर्णिमा थापा, शुशिला बुढा, समीर खत्री रहेका छन् । यस समूहको नेतृत्व समीर खत्रीले लिएका छन् ।

साथीहरु बसेर गफगाफ गर्दा पढ्दै केही गरौँ भनेर बहस भयो । के गर्ने त भन्दा तत्कालको लागि विनोद शर्माले आफूले पहिला घरमा पनि गरेको र राम्रो कमाई भएको भने पछि तिहार लक्षित गरेर तत्काल फूलखेती गर्ने र पछि त्यही जग्गामा अरु केही खेती गर्ने भनेर उनीहरु लागे । पाँच जना छात्रा र छ जना छात्र मिलेर यो कृषक समूह बनेको हो ।

यस समूहको अर्की सदस्य अम्बिका बम भन्छिन्, ‘खाली समयको सदुपयोग पनि हुने र केही सिक्न पनि पाइने भएकोले हामी लागेका छौं । सोही समूहका अर्का एक सदस्य कर्णखर भट्टराई भन्छन्, ‘हामीले अहिले क्लब बनाएका छौँ, अब यसलाई विस्तारै कृषि फार्म र कृषि समूह बनाउने लक्ष्य रहेकोे छ ।’ कृषि विषय पढ्दै आएका लोकेन्द्रमान खड्का आफूहरुको तत्कालिन उद्धेश्यका बारेमा भन्छन्,

‘विश्वविद्यालयमा पढेका र सिकेका कुरालाई यहाँ हामी प्रयोग गर्ने, सीप बढाउने र केहि कमाई पनि गर्नसक्ने भएकोले खाली समयको सदुपयोग पनि भएको छ । आर्थिक व्यवस्था कसरी गर्नु भएको छ ? भनि प्रश्न गर्दा अंगत न्यौपाने भन्छन्, ‘हामीले अहिले यसमा लाग्ने लागत हामी सबैले प्रतिव्यक्ति चौध हजार रकम उठाएका छौं र यसैबाट खर्च गरिरहेका छौं । यसका सरहरुले पनि राम्रो सहयोग र साथ दिनु भएको पूर्णिमा थापाको भनाई रहेको छ ।

उत्तम अधिकारीले पनि आफूहरु एउटा उदाहरण बन्न मन लागि अभ्यास गरिरहेको बताए । आफूहरुले पेशा गरेको देखेर अरुले पनि सिकुन् भनेर लागेको बताउँदै भावना खत्री भन्छिन्,‘हामीले यसरी काम गर्यौं अरूले पनि सिक्ने र गर्ने प्रेरणा मिल्ने छ ।’

सुशील बुढा र यमुना शाही भन्छन्, ‘सरकारले हामीजस्तै बेरोजगार र खाली समय बिताइरहेका युवालाई कृषि पेशा गर्नको लागि आधारभूत व्यवस्था मिलाइदिने हो भने देशमा भएको जग्गा बाँझो रहने थएन ।’ सरकारले यतातिर पनि ध्यान जानु पर्छ र लगानी गर्नु पर्ने उनको तर्क छ ।

साँच्चिकै सरकारले यसरी नै खाली जमिन जोत्ने वातावारण मिलाउने हो भने देशमा रोजगार पनि हुने र बाँझो जमिन पनि सदुपयोग हुने थियो र विदेशिनु पर्ने बाध्यता पनि हट्ने उनीहरुको भनाई रहेको छ ।