• जेष्ठ २८ २०८२, मंगलवार

रोल्पा दुर्घटना : ४ को मृत्यु, घाइतेलाई उपचारका लागि घोराही पठाइयो

श्रावण २३ २०८०, मंगलवार

काठमाडौं । रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १ बजेर २० मिनेटमा त्रिवेणी गाउँपालिका–७, तिलास्थित रीचिगाउँ नजिकै बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीय वागमारादेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना५ख २६१२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

दुर्घटनामा माडी गाउँपालिका–२ का २१ वर्षीय प्रकाश बाठा, माडी–४ का ५१ वर्षीय गोर्खे डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका–३ का भक्त विकको मृत्यु भएको उनले बताए । उनका अनुसार दुर्घटनाअघि बसमा २२ जना सवार रहेका अनुमान गरिएको छ । बसमा सवार अरू यात्री घाइते छन् । घाइतेहरूलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइँदैछ ।

‘अहिलेसम्म २२ जना सवार भन्ने अनुमान गरेका छौँ, बुझ्ने कार्य जारी छ,’ प्रहरी निरीक्षक भुसालले भने,‘घाइतेको उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाउँदै छौँ । उद्धारकार्य जारी छ ।’

बस सडकबाट अन्दाजी १५० मिटर तल खसेको उनले जानकारी दिए । उनका अनुसार बसका चालकको टाउकामा चोट लागेको छ ।