• जेष्ठ २८ २०८२, मंगलवार

जनजातिको धर्नामा भएको प्रहरी दमनप्रति गृहमन्त्रीले गरे दुःख व्यक्त

श्रावण २२ २०८०, सोमबार

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गरेका छन् । घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कार्वाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

आज मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् । तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कार्वाही गर्न उजुरी दिएपनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिइएको थियो ।

सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी धर्नाकारी घाइते भएका थिए । सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भएपनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिएको तामाङ घेदुङ र मगर संघले बताएका छन् । मरणासन्न घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ ।

अधिवक्ता पाण्डेमाथि कार्वाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कार्वाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएका हुन् ।