काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विस्तार तथा शुद्धीकरणका लागि सात वटा प्रदेशका सात वडामा जाने जिम्मेवारी लिएका छन् ।
यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन् । काठमाडौंमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूहरू सरकारमा भए पार्टी कामका लागि वडा तहमा जाने निर्णय गरेको बताए ।
‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सात वटा वडाको जिम्मा म लिन्छु भनेको छु । ती वडामा जनताको स्थिति, पार्टीको स्थिति र शहीद परिवारको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु,’ अध्यक्ष दाहालले भने, ‘सातै प्रदेशको सात वटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठजी जानुहुन्छ ।’
आफूहरू नै जाने भए पनि केन्द्रीय सदस्यले भने जिल्ला जान्न भन्न नमिल्ने उनले बताए । ‘अब तपाईंहरू नगएर सक्नुहुन्छ ?’ बैठकमा अध्यक्ष दाहालले सोधे ।
उनले यसअघि पार्टीले चलाएको पार्टी शुद्धीकरण सम्बन्धी दुई महिने अभियान असफल भएको भन्दै त्यसबाट पाठ सिक्नुपर्ने बताए ।