• जेष्ठ २८ २०८२, मंगलवार

पार्टी माओवादीको पिछलग्गु बन्यो, कार्यकर्ता एमालेमा फर्कन थाले : झलनाथ खनाल

श्रावण २१ २०८०, आईतवार

काठमाडौँ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन् । साथै उनले नेकपा एस स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।

शनिबारबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा १६ पेज लामो लिखित ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ दस्ताबेज पेस गर्दै खनालले भनेका छन्, ‘आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु जस्तो भएर अघि बढ्यो ।’ साथै उनले नेपाली कांग्रेस र माओवादी दुवैले आफ्नो पार्टीलाई देशैभर धोखा दिएको पनि बताएका छन् ।

‘हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो’, खनालले भनेका छन्, ‘कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि बरु एमाले तिरै जाने भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायनता बढ्दै गयो ।’
त्यस्तै नेता खनालले एमसीसी सम्झौतालाई कलङ्कको संज्ञा दिएका छन् ।

‘यो एउटा गंभिर राष्ट्रिय मुद्दा थियो । अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको अङ्ग बन्ने कि नबन्ने भन्ने सवाल थियो । अमेरिकाले हामीलाई ५५ करोड दिने सवाल होइन, हामी सम्मानपूर्ण ढङ्गले दिन्छ भने अमेरिकाबाट ५५ अर्ब डलर पनि लिन तयार नै छाैं, खनालले भनेका छन्, ‘तर जुन सर्त र स्वार्थ उसले त्यो सम्झौतामा अघि सारेको छ, त्यसलाई मानेर हाम्रो पार्टीले समेत नेपाल र नेपालीको स्वाभिमानमा सदाका निम्ति कलङ्क लगाउने काम गर्यो ।’

एमसीसी सम्झौता राष्ट्रलाई दूरगामी रूपले प्रभाव पार्ने गल्ती भनेका छन् । ‘अझ कथित, व्याख्यात्मक घोषणा त्यो केहि मानिसहरूको लागि लाज ढाक्ने धोती बाहेक केहि भएन । त्यसलाई अहिले सम्मका घटनाक्रमले साबित गरेको छ’, खनालको गम्भीर आरोप छ ।

‘यति लामो समयसम्म न अमेरिकाले न नेपाली कांग्रेसले न माओवादी पार्टीले न कसैले त्यो व्याख्यात्मक घोषणा बारेमा चर्चा गरेका छन् । सबैले त्यसलाई बिर्सिंदै गएका छन् । त्यस सम्झौतामा दर्जनौँ अपमानजनक सर्तहरू छन्’, खनालले एमसीसी सम्झौताप्रति असन्तुष्टि जनाउँदै भनेका छन् ‘कमसेकम कथित व्याख्यात्मक घोषणामा भएका १२ हुँदा मात्र सच्चिए पनि सकारात्मक कुरा नै हुने थियो तर यति गम्भीर राष्ट्रिय सवालमा कसैले मतलब राखेको देखिँदैन ।’

नेता खनालले पार्टीको प्रमुख प्रतिद्धन्दीबारे पनि प्रश्न गरेका छन् । ‘क्रान्ति र पार्टी निर्माणको हर कालखण्डमा प्रतिद्वन्द्वी निर्क्यौल गर्ने सवाल अर्को आधारभूत सवाल हो’, खनालले भनेका छन्, ‘हामीले कसका विरुद्ध प्रतिद्वन्दिता गर्ने, त्यसमाथि पनि कुन राजनीतिक शक्ति वा गुट मुख्य प्रतिद्वन्द्व गर्ने र कसलाई आफ्ना वरिपरि गोलबन्द गर्ने यस बारेमा भुल गरियो भने हाम्रो क्रान्तिकारी यात्रा एक पाइला पनि अघि बढ्दैन ।’

खनालले नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी समूहको मुख्य प्रतिद्वन्द्वी शक्ति र मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा नेपाली काँग्रेसबाहेक अरु कुनै हुन नसक्ने बताएका छन् ।

‘यस बारेमा हामी लगायत सबै वामपन्थी समूहहरुले प्रस्ट क्रान्तिकारी दृष्टिकोण र अडान राख्न सक्नुपर्छ । तर अन्य अधिकांश वामपन्थी समूहहरू ठिक यही बिन्दुमा चुकिरहेका छन् । उनीहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग गठबन्धन, कार्यगत एकता वा मोर्चा बनाउँदै सत्ताका चुस्की लिइरहेका छन्, खनालले भनेका छन्, ‘यो दक्षिणपन्थी कार्यदिशा हो । यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरूलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायनतिर लगिरहेछ ।’

खनालले कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरुलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेको किटान गरेका छन् । उनले यसरी वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्तो बन्दा आफ्नो साख निरन्तर गिराइरहेकाले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्ने बताए ।