• जेष्ठ २८ २०८२, मंगलवार

माओवादीको समस्या मुलमा छ, अन्यत्र समाधान खोजेर हुँदैन : दीपशिखा

श्रावण १७ २०८०, बुधबार

काठमाडौँ । बुधबारदेखि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । तीनै तहको निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकले पार्टीलाई गतिशील बनाउने नीति, रणनीति, कार्यदिशा र कार्यक्रम ल्याउने नेताहरूले विश्वास लिएका छन् ।

२०६४ को संविधानसभा निर्वाचनमा जनमतबाट पहिलो शक्तिशाली पार्टी बनेको माओवादी २०७९ को निर्वाचनसम्म आइपुग्दा तेस्रो स्थानसहित ३२ सिटमा खुम्चिएको छ । पार्टी निरन्तर कमजोर भए पनि अध्यक्ष प्रचण्ड आफै पनि रूपान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् । २०७८ पुसमा भएको ८औँ महाधिवेशनले माओवादीलाई नम्बर १ पार्टी बनाउने घोषणा गरे पनि व्यवहारमा लागु हुन सकेको छैन ।

केन्द्रीय समिति बैठकबाट पार्टी गतिशील हुने विश्वास नेताहरूले लिएका छन् । संसदीय राजनीतिमा आएको १७ वर्षमा विभिन्न हन्डर ठक्कर खाएको माओवादी सच्चिने कि सकिने भन्नेबारे केन्द्रीय समितिले निर्धारण गर्ने पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले बताए । माओवादी समग्र पार्टीको अवस्थाबारे दीपशिखाले मूल नेतृत्वमा देखिएको समस्या हल नभएसम्म पार्टी गतिशील हुन नसक्ने जिकिर गरे । उनले माओवादी मात्र नभई सबै पार्टीभित्र मूल धमिलो भएकाले समस्या आएको बताए ।

‘माओवादीभित्र मूलमै समस्या छ । मूल नै धमिलो भएपछि अन्य सङ्गठन सङ्लो हुँदैन । माओवादी मात्र होइन सबै पार्टी चल्न सकेको छैन । केन्द्रीय कमिटी बैठकले समग्र पार्टीमा गति पैदा गर्छ र पार्टीले गति लिएपछि सम्पूर्ण जन वर्गीय सङ्गठन गतिशील हुन्छ भन्ने मेरो बुझाइ छ’, उनले भने ।

पार्टीले नै राम्रोसँग काम गर्न नसकेपछि सम्पूर्ण जन वर्गीय सङ्गठन, विभाग स्वतः निष्क्रिय भएको उनको तर्क छ । पार्टीले जुन गतिका साथ काम गर्नुपर्नेमा त्यसो हुन नसक्दा अहिलेको अवस्था आएको दीपशिखाले बताए । ‘सङ्गठनहरूले आ–आफ्नो तरिकाले चलाइरहेका छन् तर जुन गतिमा काम गर्नुपथ्र्यो त्यो हुन सकेको छैन । कतिपय जन वर्गीय सङ्गठनमा पार्टीभित्रको गुटबन्दीको प्रभाव परेको छ ।

कतिपयमा गुटबन्दीको प्रभाव परेको छैन’, उनले भने, ‘त्यसैले सबैलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन । मूल कुरा जुन दिन पार्टीले गति लिन्छ, त्यस दिन जन वर्गीय सङ्गठन पनि स्वतः सक्रिय हुन्छ । केन्द्रीय समिति बैठक पछि यी सबै कुरा ठिक हुन्छन् ।’ विभागहरूले जुन ‘स्पिरिट’मा काम गर्नुपर्ने हो, त्यो अनुरूप काम हुन नसकेकोमा उनले चिन्ता गरेका छन् । पार्टीभित्र बढी सक्रिय रहने जन वर्गीय सङ्गठन युवा, मजदुर, महिला, विद्यार्थी सङ्गठनले अपेक्षाकृत रूपमा काम गर्न नसकेको उनले स्वीकारे ।