• जेष्ठ २७ २०८२, सोमबार

अधिवक्ता पाण्डेमाथि कारवाही नगरिए देशभर कडा आन्दोलन गर्छौं : नेपाल मगर संघ

श्रावण १५ २०८०, सोमबार

काठमाडौं । नेपाल मगर संघले तामाङ र मगर समुदायमाथि गलत लान्छना लगाएकी अधिवक्ता भगवती पाण्डेमाथि कारवाही नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका पदाधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । केही दिनअघि अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायमा दाजू र दिदीबहिनीबीच विहे हुने भएकोले तिनीहरुबाट हुने सन्तान एकोहोरो र कट्टर हुने अभिव्यक्ति दिएकी थिइन् । सो अभिव्यक्ति दिए लगत्तै ती समुदायका अगुवाहरुले कडा आपत्ति जनाउँदै आएका छन् ।

उनीहरुले नेपालमा आदिवासी समुदायलाई नै पशुसित तुलना गरिएको भन्दै यस्तो गैरजिम्मेवार अभिव्यक्ति तत्काल फिर्ता लिई माफी माग्नु पर्ने मगर र तामाङ अगुवाहरुको माग रहेको छ । आजको पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनले अधिवक्ता पाण्डेले २४ घण्टाभित्र प्रहरीकोमा गई आत्मसमर्पण गरी माफी माग्न चेतावनी दिए ।

अदालतबाट पक्राउ पूजी जारी भइसक्दा पनि पाण्डेलाई पक्राउ नगर्नुमा रहस्य लुकेको भन्दै पुनले तत्काल पक्राउ नगरिए देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिने चेतावनी दिए ।

पुनले मगर समुदायमा साली र भेनाबीच भने विहे हुने प्रथा रहेको बताए । अर्का वक्ता अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकाले नेपालमा जनजातिहरुलाई पशुसरह ठान्ने पाण्डेलाई कानूनी कारवाही नगरिए सडक संघर्षमा जाने बताए । रोकाले जनजातिमा दाजू र बहिनीबीच विहे भएको प्रमाणित गरेर देखाउन पनि चेतावनी दिए ।