काठमाडौँ। काठमाडौंबाट मकवानपुरको चित्लाङ जाँदै गरेको मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो चन्द्रगिरी नगरपालिका,४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा बा १० च ३५४६ नम्बरको मारुती भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रेका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी)नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
काठमाडौंबाट चित्लाङतर्फ गइरहेको भ्यान हिलोमा फसेको र धकेल्दा ओभर स्पिड भएर सडकबाट खसेको थियो । भ्यानमा पाँच जना सवार थिए । तीमध्ये तीन जनाको सकुशल उद्धार गरिएको डीएसपी अधिकारीले बताए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।