काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले प्रस्तावित शिक्षा ऐनमार्फत शैक्षिक परामर्श सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन नमिल्ने प्रावधान गर्न माग गरेको छ । स्वदेशी जनशक्ति तथा सानो पुँजीबाट सहज ढंगले सञ्चालन भईरहेको शैक्षिक परामर्श व्यवसायमा विदेशी लगानी ल्याउन नमिल्ने प्रावधान प्रस्तावित शिक्षा ऐन २०८० मा गर्न माग गरेको हो ।
महासचिव दिपकराज भुसालले एक विज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । पछिल्ला केहि वर्षयता विदेशी कम्पनी तथा फ्रेन्चाइजको नाममा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीले समग्र परामर्श क्षेत्रलाई अस्तव्यस्त बनाई रहेको ईक्यानको भनाई छ ।
उनीहरूका कारण स्वदेशी लगानी तथा व्यवसायीलाई धरासायी बनाउने निश्चित रहेको भन्दै इक्यानले यस क्षेत्रसँग जोडिएका वैदेशिक लगानिलाई निषेध गरि सबै विदेशी कम्पनी तथा फ्रेन्चाइजका शाखाहरुलाई पनि स्पष्ट नियम बनाई नियन्त्रण गर्ने गरि कानून निर्माण गर्न अनुरोध गरेको छ ।
प्रस्तावित ऐनको दफा ६५ को उपदफा ५ र ६ मा व्यवस्था गरिएका प्रावधानहरू असान्दर्भिक भएको ईक्यानको ठहर छ । उपदफा ५ र ६ मा धरौटीको विषय समावेश गरिएको भन्दै शैक्षिक परामर्श व्यवसायीबाट कुनै पनि प्रकारको धरौटी राख्न नपर्ने व्यवस्था गर्न माग गरेको छ ।