• जेष्ठ २७ २०८२, सोमबार

अराजकताले सीमा नाघिसकेकाे भन्दै प्रचण्डले भने, इनफ इज इनफ, अब गालीगलौज गर्न छाडौं

जेष्ठ २६ २०८०, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा अराजकताले सीमा नाघिसकेकाले इनफ इज इनफ भन्ने अवस्थामा पुगी सकेको बताएका छन् । पार्टीको रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै दाहालले एकले अर्काको खुट्टा तान्ने र एक आपसमा गाली गलौज धेरै भई सकेकाले रोकिनुपर्ने बताए ।

‘नेपालमा अति भइसक्यो इनफ इज इनफ भन्छन् नि त्यो गर्ने बेला भयो । एकले अर्काको खुट्टा तान्ने आपसमा गाली गलौज गर्ने तछाड र मछाड धेरै भयो,’ दाहालले भने, ‘देश बनाउन होइन देश बिगार्न तछाड मछाड गरे जस्तो विगतको अनुभव भयो । अब देश बनाउन राष्ट्रिय एकता गर्नुपर्ने भयो ।’ वैदेशिक रोजगारीबाट फर्किएकाहरू मात्रै नभएर वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरू नयाँ राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनले बताए ।

वैदेशिक रोजगारीमा भएका लाखौं दिदीबहिनीहरुलाई स्वदेशमै फर्किएर काम गर्ने वातावरण बनाउनुपर्ने दाहालले बताए । ‘देशमा नकारात्मक र अराजकता अस्थिरता पैदा गर्ने प्रवृत्ति र तत्त्वहरू छन् । हामी कसैले देशको एकतालाई कमजोर पार्ने भएको प्रगतिशील परिवर्तनलाई कमजोर पार्ने गर्नु हुँदैन,’ दाहालले भने, ‘देशमा निराशा र असन्तुष्टिको प्रचार गर्ने प्रवृत्तिलाई होइन देशको एकताको पक्षधर देशभक्तहरूलाई सहयोग गर्न अपिल गर्दछु ।’

कोरिया जापान लगायत देशहरूले कठिन संघर्षबाट विकास गरेकाले नेपाली युवाहरू एक जुट भई देश निर्माणमा जुट्नु पर्ने आवश्यकता भएको दाहालले बताए ।