काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको नेतृत्व गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने बताएका छन्। मंसिरकै निर्वाचनताका पनि आफूहरुले कांग्रेस–एमाले मिल्नुपर्ने प्रस्ताव गरेको पोखरेलको भनाइ छ।
नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको पोखरेलले टिप्पणी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतलाई लक्षित गर्दै कुनै एक पेसामा सफल भएकै आधारमा राजनीतिमा आएर जनताको काम गर्न नसक्ने पनि उनले दावी गरे।
‘नयाँ भनिने पार्टीहरु न त विचारधारात्मक जगमा खडा भएका छन्, न त उनीहरुको समस्या समाधान गर्नका लागि व्यवस्थित कुनै सोचहरु रहेका छन्। न त उनीहरु समाजलाई नीतिगत रुपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अगाडि बढ्न खोजिरहेका छन्,’ पोखरेलले भने, ‘विशुद्ध रुपमा उनीहरु नयाँ र पुरानोको भाष्य खडा गरिकन हामी त नयाँ हौँ भन्ने अर्थमा आफूलाई प्रस्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस गरिरहेका छन्। नयाँको नाममा सुरु भएको पलुलिस्ट जुन प्रकारको राजनीति छ, यो राजनीति भनेको यथार्थतामा भन्नुहुन्छ भने यथास्थितिवादलाई पोषण गर्ने कुरा मात्रै हो।’
राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई स्पष्ट रुपमा अगाडि बढाउन नसक्दाको परिणामस्वरुप केही पपुलिस्टहरु राजनीतिको विकल्पको रुपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजिवादको पोषण पक्षधर रहेको उनको भनाइ छ।